सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात
बैतडी, १० माघ – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । बैतडी जिल्लाको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ र देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
हिमपात र वर्षा भइरहे पनि जिल्लाका राजमार्ग तथा सडक सञ्जालमा हालसम्म कुनै अवरोध नदेखिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । यस्तै, दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा तथा डडेल्धुरा सदरमुकामसँगै हगुल्टे, साहुखर्क र भातकाँडा क्षेत्रमा पनि हिमपात भएको प्रहरीले जनाएको छ ।
यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि स्थानीय किसान खुसी भएका छन् । पछिल्ला चार महिनादेखि वर्षा नहुँदा गहुँबालीलगायतका हिउँदे बाली सुक्न थालेका थिए । हिमपात र वर्षापछि बाली सप्रिने अपेक्षासहित किसानमा उत्साह देखिएको छ । हिमपातका कारण चिसो अत्यधिक बढेकाले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई विशेष सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

