आजको मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात/वर्षाको सम्भावना
काठमाडौँ, १० माघ – हाल नेपालमा पश्चिमी वायूको प्रभाव कायम रहेको छ । सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना छ ।
साथै गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आज राति पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ ।

