त्रिभुवन पार्कको जीर्णोद्धार तीव्र: थप आकर्षक बन्दै थानकोटको पर्यटकीय गन्तव्य
काठमाडौँ, १० साउन — चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित ऐतिहासिक त्रिभुवन पार्कलाई थप आकर्षक बनाउन जीर्णोद्धार, पुनःनिर्माण र नयाँ संरचना निर्माणको काम तीव्र गतिमा अघि बढाएको छ। नगरप्रमुख घनश्याम गिरीका अनुसार हाल नगरपालिकाको समपूरक अनुदानमा रु ३ करोडभन्दा बढीको लगानीमा पार्कभित्रका संरचना स्तरोन्नति भइरहेको छ। साथै, थप रु ३ करोड विनियोजन गरेर बाँकी संरचना सुधार गर्ने तयारी पनि गरिएको छ।
हाल पार्कभित्र वनभोजस्थल, बालउद्यान, ढुंगेधारा, पोखरी, ऐतिहासिक सत्तल/पाटी, जनावर तथा चराचुरुंगीका आकर्षक मूर्तिहरूको निर्माण भइरहेको छ। पार्कमा बालबालिकाका लागि खेल सामग्रीसमेत थपिएका छन्। गिरीले निर्माणको गुणस्तरमा सम्झौता नगर्न र निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिँदै भने, “यो पार्क नगरपालिकाको मात्र नभई मेरो व्यक्तिगत प्रतिष्ठासँग पनि जोडिएको छ, त्यसैले आन्तरिक पर्यटकले ‘आहा! यस्तो पार्क!’ भन्ने अनुभूति पाउनुपर्छ।”
त्रिभुवन पार्कको स्थापना विसं २०२८ मा श्री ५ त्रिभुवन स्मारक समितिबाट भएको हो। शुरुमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको पार्क पछि विसं २०४२ मा थप ४० रोपनी जमिन खरिद गरी विस्तार गरिएको थियो। पार्कभित्र राजा त्रिभुवनको सालिक र भैरवनाथ मन्दिर पनि छन्।
विसं २०७२ को भूकम्पले सालिक क्षतिग्रस्त भए पनि पछि मर्मत गरी पुनःस्थापना गरिएको थियो। विसं २०३०–३१ मा सर्वसाधारणका लागि खुला गरिएको यस पार्कको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले गर्नुभएको थियो। नगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाए पनि स्थानीय सम्पदा संरक्षणमा प्रतिबद्ध भएर अघि बढेको जनाएको छ।

