करिब साढे नौ खर्बको आयात, डेढ खर्ब मात्र निर्यात

काठमाडौँ, ७ माघ – चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिसम्म नेपालले करिब साढे नौ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा डेढ खर्ब रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार रु १० खर्ब ८१ अर्ब चार करोड पुगेको छ भने व्यापार घाटा रु सात खर्ब ९७ अर्ब ४८ लाख रहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार १७ दशमलव ३६ प्रतिशत र व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ ।

गत पुस मसान्तसम्म कुल रु नौ खर्ब ३९ अर्ब दुई करोड २८ लाख बराबरको वस्तु आयात भएको छ भने रु एक खर्ब ४२ अर्ब एक करोड ८० लाख बराबरको मात्रै निर्यात भएको विभागले जनाएको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८६ प्रतिशत र निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत रहेको छ ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदारका रूपमा कायम रहेको छ । पछिल्लो छ महिनामा भारतबाट रु पाँच खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख बराबरको आयात हुँदा रु एक खर्ब १५ अर्ब ७४ करोड ३६ लाख बराबरको निर्यात भएको छ । यस अवधिमा भारतसँग मात्र रु चार खर्ब १६ अर्ब ७१ करोड ३० लाख व्यापार घाटा रहेको छ ।

चीनसँगको व्यापार घाटा पछिल्लो छ महिनामा रु एक खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख पुगेको छ । चीनबाट रु एक खर्ब ९६ अर्ब ९४ लाख बराबरको आयात हुँदा रु ६४ करोड नौ लाख बराबरको मात्रै निर्यात भएको छ ।

नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरूमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र थाइल्याण्ड रहेका छन् । यता व्यापार नाफा भएका मुलुकमा डेनमार्क शीर्ष स्थानमा रहेको छ । पछिल्लो छ महिनामा डेनमार्कसँग रु नौ करोड १५ लाखको आयात र रु ५१ करोड दुई लाखको निर्यात हुँदा रु ४१ करोड ८६ लाख व्यापार नाफा देखिएको छ । रोमानिया, स्वीडेन, इराक र नर्वे लगायत मुलुकसँग पनि नेपालको व्यापार नाफा रहेको छ ।

यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी भएको छ । पुस मसान्तसम्म रु ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजारको डिजेल, रु ३३ अर्ब सात करोड २१ लाख ६८ हजारको पेट्रोल र रु २७ अर्ब चार करोड २० लाख २६ हजारको खाना पकाउने ग्यास आयात गरिएको छ ।

त्यसैगरी रु २३ अर्ब २९ करोड ८३ लाख २२ हजार बराबरको स्मार्टफोन, रु ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाविन तेल र रु १४ अर्ब चार करोड ९३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ । यस अवधिमा वस्तु आयातबाट सङ्कलित भन्सार राजस्व रु दुई खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार पुगेको छ ।

निर्याततर्फ सबैभन्दा बढी सोयाविन तेल रहेको छ, जसको मूल्य रु ५६ अर्ब आठ करोड २४ लाख २६ हजार रहेको छ । त्यसपछि रु सात अर्ब १९ करोड ९५ लाखको अलैँची, रु चार अर्ब ७८ करोड ४४ लाखको सूर्यमुखी तेल र रु तीन अर्ब ११ करोडको कार्पेट निर्यात भएको छ ।

Facebook Comments Box