प्रतिनिधिसभा निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी
काठमाडौँ, ७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनोनयनपत्र दर्ता गराएका तीन हजार ४८६ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध मात्र उजुरी दर्ता भएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पाँच उजुरी दर्ता भएका छन् ।
उम्मेदवारको योग्यता नपुगेको भन्दै उजुरी दिने समयावधि आज तोकिएको थियो । सम्बन्धित निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता गरिएको जनाइएको छ ।
उजुरीहरू निर्देशिकाको अनुसूची १७ अनुसार दर्ता किताबमा अभिलेख गरी अनुसूची १८ बमोजिमको भरपाइ उजुरीकर्तालाई प्रदान गरिएको आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रमअनुसार उजुरी दर्ताको म्याद सकिएपछि निर्वाचन अधिकृतहरूले म्यादभित्र परेका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् । प्रकाशित सूचनामा जसका विरुद्ध उजुरी परेको हो, ती उम्मेदवारले तोकिएको अवधिभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।
आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरिनेछ । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार हालसम्म ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ, जसमा ३ हजार ८९ पुरुष, ३९६ महिला र एक तेस्रो लिङ्गी उम्मेदवार रहेका छन् ।

