कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ मा आज दिनभर नै वर्षा जारी रहने

काठमाडौँ, २ भदौ – आज प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ मा वर्षा भइरहेको हो।

‘आज दिनभर नै वर्षा जारी रहने देखिएको छ,’ मौसमविद् श्रेष्ठले  भने, ‘पानी रोकिँदै पर्दै गर्ने देखिन्छ।’ उनका अनुसार उल्लिखित पाँचवटा प्रदेशका धेरैजसो स्थानमा अहिले पानी परिरहेको छ। कतिपयमा प्रदेशभरि नै वर्षा भइरहेको पनि हुन सक्छ। तर मौसम पूर्वानुमान महाशाखाले आफ्ना स्टेसन भएका स्थानका आधारमा अनुमान गरेको हो।

मौसमविद् श्रेष्ठका अनुसार अहिले हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको हो। ‘तर बागमती र गण्डकीमा बिस्तारै भारी वर्षा पनि हुन थालेको देखिन्छ,’ उनले भने।  बागमती प्रदेशको धादिङतिर र गण्डकीको तनहुँतिर भारी वर्षा हुन थालेको उनले जानकारी दिए। काठमाडौं उपत्यकामा पनि आज दिनभर नै वर्षा जारी रहने देखिए पनि भारी वर्षाको भने सम्भावना कम रहेको उनले बताए।

Facebook Comments Box