निर्वाचन आउन ४८ दिन बाँकी : मतदान अधिकृतका काम, कर्तव्य र अधिकार स्पष्ट
काठमाडौँ, २ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिने मतदान अधिकृतका काम, कर्तव्य र अधिकार निर्वाचन आयोगले स्पष्ट गरेको छ । आयोगद्वारा जारी प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२ अनुसार मतदान अधिकृतले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।
निर्देशिकाअनुसार मतदान अधिकृतमा नियुक्त भएपछि अनिवार्य निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी भई निर्वाचन सामग्री रुजु गरेर बुझिलिनुपर्ने व्यवस्था छ । मतदाता परिचयपत्र तथा मतदान केन्द्रसम्बन्धी अन्य सामग्री जाँच गरी बुझिलिने, तोकिएको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्ने जिम्मेवारी पनि मतदान अधिकृतकै हुन्छ ।
मतदान केन्द्रमा समयमै पुगेर केन्द्र निर्माण गर्ने, सुरक्षा, भौगोलिक कठिनाइ वा अन्य कारणले तोकिएको केन्द्रमा मतदान गराउन नसकिने अवस्था आएमा तुरुन्त निर्वाचन अधिकृतलाई जानकारी गराउनुपर्ने प्रावधान निर्देशिकामा उल्लेख छ । मतदान हुनुअघि मतदाता परिचयपत्र वितरण गर्ने, कर्मचारी र स्वयंसेवकलाई कामको बाँडफाँट गरी मतदान प्रक्रियामा खटाउने दायित्व पनि मतदान अधिकृतको हो ।
मतदानको दिन मतदातालाई मतपत्र दिनुअघि मतपत्रमा हस्ताक्षर गर्ने, मतदान कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निरन्तर अनुगमन गर्ने तथा मतदान गतिविधिबारे समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, मतदान केन्द्रमा आउने पर्यवेक्षक, अनुगमनकर्ता, पत्रकार, सुरक्षाकर्मी तथा घुम्ती टोलीलाई मतदानको अवस्थाबारे जानकारी गराउने, निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने र कुनै पनि गैरकानुनी गतिविधि हुन नदिने जिम्मेवारी पनि मतदान अधिकृतकै कर्तव्यभित्र पर्छ ।
मतदान सुरु हुनुअघि र मतदान सम्पन्न भएपछि आवश्यक मुचुल्का तयार गरी शिलबन्दी मतपेटिका तथा अन्य निर्वाचन सामग्री सुरक्षित रूपमा निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने निर्देशिकामा उल्लेख छ । साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिमको अधिकार प्रयोग गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु मतदान अधिकृतको मुख्य कर्तव्य रहने आयोगले जनाएको छ ।

