आज एघारौँ राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ, १ माघ – एघारौँ राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजनको जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गते राष्ट्रिय योग दिवस घोषणा गरिएको हो ।
यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योग क्षेत्रमा कार्यरत संस्थाहरूको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
वैदिक कालमा हिमालय क्षेत्रमै ऋषिमुनिले अध्ययन–अनुसन्धान गरी प्रतिपादन गरेको योग कालान्तरमा नेपालमै ओझेलमा पर्दै गएको थियो । यही परम्पराको पुनर्जागरण गर्दै जनचेतना फैलाउने उद्देश्यले राष्ट्रिय योग दिवस घोषणा गरिएको हो ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति, स्थिरता र आरोग्यताको प्राप्ति गरिन्थ्यो । आधुनिक जीवनशैलीको प्रभावले योगलाई बिर्सँदै गएका नेपाली युरोप र अमेरिकामा यसको उपचारात्मक र मानसिक शान्तिसँगको प्रयोग बढेपछि पुनः योगतर्फ आकर्षित हुन थालेका छन् ।
आयुर्वेदसँग योगलाई जोड्ने प्रयासस्वरूप विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी, दाङमा पनि योग अभ्यासमार्फत स्वास्थ्य लाभ गराउने व्यवस्था गरिएको छ । पछिल्ला वर्षहरूमा स्वास्थ्य र मानसिक सन्तुलनका लागि योग अभ्यास गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ ।
योग वैदिक चिकित्सा पद्धति भएको उल्लेख अथर्ववेदमा पाइन्छ । त्यहाँ ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा उत्पन्न हुने चञ्चलतालाई नियन्त्रण गर्ने अभ्यास नै योग हो भनिएको छ । गीतामा ‘योग कर्मसु कौशलम्’ अर्थात् योग अभ्यासले कर्ममा दक्षता ल्याउँछ भन्ने भाव व्यक्त गरिएको छ ।
इसापूर्व १६०० तिर रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहिता मा पनि हिमालय क्षेत्रका वनमा ऋषिमुनिले योग, ध्यान र तपस्यामार्फत सत्वावजय चिकित्सा पद्धतिको विकास गरेको उल्लेख पाइन्छ ।
योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेद क्षेत्र विस्तार हुँदै गएको यस क्षेत्रमा लागेकाहरू बताउँछन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठमा योग तथा प्राकृतिक चिकित्साको औपचारिक अध्ययन–अध्यापन हुँदै आएको छ ।
प्रवेशिका परीक्षा उत्तीर्ण गरेकालाई छ महिनाको योग तथा प्राकृतिक चिकित्सा तालिम दिइन्छ । साथै, जुनसुकै विषयमा स्नातक गरेका व्यक्तिका लागि प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तर पाठ्यक्रमसमेत स्वीकृत भएको योग तथा प्राकृतिक चिकित्सा विभाग प्रमुख डा पोखरेलले जानकारी दिनुभयो ।
विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद समावेश गरे पनि सम्बन्धित जनशक्तिको अभावका कारण प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । केही विद्यालयमा सुरु भए पनि अपेक्षित परिणाम आउन नसकेको जनाइएको छ ।
मानवभित्र निहित सम्पूर्ण सम्भावनालाई उजागर गर्ने ज्ञान–विज्ञान नै योग भएको जानकारहरूको भनाइ छ । प्रारम्भिक कालमा सबैका लागि सहज रूपमा अभ्यास गरिने योग मध्यकालमा साधु–सन्त र वैरागीको अभ्यासमा सीमितजस्तो बुझिए पनि अहिले स्वास्थ्य, मानसिक शान्ति र खुसीसँग जोडिएर व्यापक रूपमा फैलिएको छ ।
“जुन अवस्थामा व्यक्ति छ, त्यहीँबाट व्यवस्थित रूपमा अघि बढ्न सहयोग गर्ने माध्यम योग हो । यसले कार्यक्षमता वृद्धि गर्छ, त्यसैले पश्चिमी मुलुकहरूले यसलाई ‘लाइफ म्यानेजमेन्ट साइन्स’ भन्न थालेका छन्,” डा पोखरेलले भन्नुभयो । योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञानसमेत समाहित रहेको उहाँको भनाइ छ ।
उत्तरायण सुरु हुने दिन योग र ध्यानका लागि विशेष मानिने भएकाले मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरिएको हो । यस अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भक्तपुरमा राष्ट्रिय योग दिवसको मूल कार्यक्रम हुने जनाइएको छ ।

