आज हरिशयनी एकादशी, तुलसी सारेर विशेष पूजा आराधना सुरु

काठमाडौँ, ९ साउन – आज हरिशयनी एकादशी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यस अवसरमा घर–घरका तुलसीको मठमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ। ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज मठमा सार्ने परम्परा रहेको छ।

धर्मशास्त्रविद्हरूका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वासका कारण यस अवधिलाई चतुर्मासा र आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ। यस अवधिमा धेरै भक्तजनले एकादशी व्रत बस्ने, फलाहार गर्ने तथा विशेष पूजा गर्ने परम्परा रहेको छ। आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ।

धार्मिक महत्त्वसँगै तुलसीलाई औषधीय गुणयुक्त वनस्पतिका रूपमा पनि लिइन्छ। तुलसीले वातावरण शुद्ध बनाउन र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास रहिआएको छ। चार महिनासम्म विशेष पूजा गरिने तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग प्रतीकात्मक विवाह गराउने परम्परासँगै चतुर्मासा व्रत समापन गरिन्छ।

Facebook Comments Box