कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै सार्वजनिक हुने

कञ्चनपुर, २ माघ  कञ्चनपुर जिल्लाका विभिन्न तालतलैया, नदी तथा सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ । सिमसारमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना कार्य सकिएको हो ।

नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का वरिष्ठ चराविज्ञ हिरूलाल डगौंराका अनुसार अघिल्ला वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसारलगायत क्षेत्रमा जलपन्छीको सङ्ख्यामा सुधार देखिएको छ ।

“कञ्चनपुरमा गणना कार्य पूरा भइसकेको छ । अहिले तथ्याङ्क अद्यावधिक गर्ने र प्रजाति छुट्याउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “कैलालीका केही स्थानमा गणना बाँकी रहेकाले आगामी माघ ४ गतेभित्र सबै नतिजा सार्वजनिक गरिनेछ ।”

बिसिएनको अगुवाइ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा गरिएको गणनामा वाइनाकुलर, दूरबिन, क्यामेरा र जिपिएसजस्ता उपकरण प्रयोग गरिएको थियो । हिँडेर पुग्न कठिन सिमसार क्षेत्रमा हात्तीको समेत प्रयोग गरिएको चराविज्ञ डगौंराले जानकारी दिनुभयो ।

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एसोसिएसन तथा कञ्चनपुर पन्छी संरक्षण समूहका प्रतिनिधिको सहभागिता रहेको थियो ।

निकुञ्जभित्र सिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी, राधापुर सिमसार, झिलमिला र रतनपुर सिमसारमा गणना गरिएको छ । यस्तै, निकुञ्ज बाहिर महाकाली नदी, पुरैनी ताल र बन्दा ताल क्षेत्रमा पनि जलपन्छीको अवस्थाबारे विवरण सङ्कलन गरिएको छ ।

चराविज्ञहरूका अनुसार सिमसार क्षेत्रमा बढ्दो अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि र जलवायु परिवर्तनका कारण जलपन्छीको बासस्थान जोखिममा पर्दै गएको छ । गणनाका क्रममा जलपन्छीको सङ्ख्यासँगै तिनको बासस्थानमा देखिएका चुनौतीबारे पनि अध्ययन गरिएको जनाइएको छ ।

Facebook Comments Box