झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन प्रशासनको आग्रह
झापा, ३० पुस – जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्लाभित्र इजाजत लिएर राखिएका सबै प्रकारका हातहतियार तथा त्यसमा प्रयोग हुने गोलीगठ्ठा सम्बन्धित धनीले नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाइसक्नुपर्नेछ ।
निर्वाचन सम्पन्न भएको २१ दिनपछि सम्बन्धित धनीले आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई हातहतियार फिर्ता लिन सक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । शान्तिपूर्ण र सुरक्षित निर्वाचन राष्ट्रको गौरव भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले यस कार्यमा जिल्लाबासी, नागरिक समाज तथा सरोकारवाला सबै पक्षको पूर्ण सहयोगको अपेक्षा गरेको छ ।

