कांग्रेस विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइँदै
काठमाडौँः नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ । विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच रातभर चलेका विभिन्न चरणका वार्ता असफल भएपछि निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने निर्णय गरिएको हो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि सहमतिको सम्भावना टुटेको र निर्वाचन प्रक्रियामार्फत नै निर्णयमा पुग्ने निष्कर्ष निकालिएको हो ।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट अन्तिम क्षणसम्म वार्ताको प्रयास भइरहेको भए पनि निर्वाचन तालिका यथावत् राखेर प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । “हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ । हामी त्यसलाई सम्मान गर्छौं, तर सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ,” उहाँले भन्नुभयो ।
पोखरेलले मंगलबार साँझ विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत पनि सहमति नजुटे निर्वाचनबाटै नेतृत्व चयन गरिने स्पष्ट पार्नुभएको थियो । उहाँका अनुसार संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार देखिए पनि सभापति देउवा नेतृत्व छोड्न नमान्नु विशेष महाधिवेशन पक्षका लागि स्वीकार्य नभएको हो ।
सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्दै पार्टी र आफ्नो व्यक्तित्वसम्बन्धी लेखनमा समय दिनुपर्ने धारणा राख्दै अब निर्वाचन प्रक्रिया नै बाँकी रहेको पोखरेलले बताउनुभयो । यसअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्दसत्र समापन गरिएको थियो । यसैबीच विशेष महाधिवेशनका नेताहरूले नयाँ पदाधिकारी संरचनाको खाका समेत तयार गरिरहेको जनाइएको छ ।
आज बिहानसम्म वार्ताको ढोका खुला राखिए पनि नयाँ निर्वाचन तालिका अनुसार प्रक्रिया अघि बढाइने जनाइएको छ । केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन दर्ताका लागि बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

