रेखा थापाले गरिन् कमल थापाको कडा आलोचना

काठमाडौं, १८ मङ्सिर – राप्रपा महामन्त्रीको उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाले अध्यक्षका उम्मेदवार कमल थापाले एउटी महिलालाई प्रियसी बनाएर बाँकी महिला नेतृलाई बन्देज लगाउन खोजेपछि विद्रोह गर्नुपरेको बताएकी छन् ।

महामन्त्री पदका लागि कुन्तिकुमारी शाही र रेखा थापाबीच प्रतिस्पर्धा भइरहेको छ । शाही कमल थापा प्यानलबाट उम्मेदवार छिन् भने रेखा राजेन्द्र लिङ्देनको प्यानलबाट । कुन्ति शाहीलाईमात्र कमल थापाले सधैं अवसर दिएको भन्दै रेखा कटाक्षमा उत्रिएकी हुन् ।

राप्रपा नेतृत्वका लागि भृकुटीमण्डपमा मतदान चलिरहेका बेला पत्रकारहरुसँग कुरा गर्दै रेखाले कमल थापा अनुदार शासक भएको भन्दै राजेन्द्र लिङ्देनको राजनीतिक जित भइसकेको टिप्पणी गरिन् ।

मतदाताहरुलाई छेउमा राखेर उनले भनिन् – राप्रपामा कुनै एउटा नेतालाइ खुसी बनाउँदैमा पद पाइने रहेछ, उसले मात्रै अवसर पाउनेविरुद्ध मेरो विद्रोह हो । उहाँको लागि एउटै नेतृ प्रियतम, प्रियसी, प्रियपात्र हुन्छ भने अरु नेतृ चुप लागेर बस्ने ? हामीलाई किनारा लगाउने ? यो हुन सक्दैन ।

कमल थापाका कारण पार्टी ३३ सिटबाट १ सिटमा खुम्चिएको आरोप समेत रेखाले लगाइन् । उनले कुनै धाँधली र गडबडी नभएमा आफ्नो प्यानलले चुनाव जित्ने दावी समेत गरेकी छन् ।

रेखा थापालाई राजनीतिबारे थाहा छैन भनेर कुन्ति शाहीले दिएको अभिव्यक्तिप्रति समेत रेखाले आपत्ति जनाइन् । उनले एउटा नेताको चाकडी गरेर कोठे राजनीति गरेको आरोप कुन्तिमाथि लगाएकी छन् । आफूले सामाजिक अभियान चलाइरहँदा कुन्तिले एउटा नेतालाई खुसी बनाएर बसेको र पार्टीभित्रका अन्य महिला नेतृलाई अघि आउन नदिएको आरोप समेत लगाइन् ।

Facebook Comments Box