राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
काठमाडौँ, ५ साउन – नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूका लागि लाभांश वितरणसम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ। ‘लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ नामक यो दस्तावेज मार्फत लाभांश वितरण प्रक्रिया पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य लिइएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितका अनुसार, मार्गदर्शनले आर्जन गरिएको मुनाफाको वितरण तथा पुनः लगानी प्रक्रियालाई थप प्रभावकारी बनाउनेछ। यसले सम्बन्धित संस्थाको जोखिम वहन क्षमता, कार्यक्षमता तथा भुक्तानी प्रणालीको सुदृढीकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
नीति निर्माण अनिवार्य, मुनाफाको उपयोग स्पष्ट
नयाँ मार्गदर्शन अनुसार, लाभांश वितरण गर्नुअघि संस्थाले आन्तरिक लाभांश वितरण नीति तयार गरी सञ्चालक समितिबाट पारित गर्नुपर्नेछ। सो नीतिमा नियामकीय पूँजी, नगद तथा शेयर लाभांश, जोखिम वहन कोष, जगेडा कोष लगायतका विवरण स्पष्ट हुनुपर्नेछ।
प्रत्येक कोषमा मुनाफाको एक निश्चित प्रतिशत छुट्याउनुपर्नेछ, जुन अप्रत्याशित जोखिम व्यवस्थापनमा उपयोग गर्न सकिनेछ। त्यस्ता कोषबाट गरिएको खर्चको विवरण राष्ट्र बैंकलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ।मार्गदर्शनले भुक्तानी प्रणाली सञ्चालकहरूलाई पूर्वाधार विकास कोष स्थापना गर्न पनि निर्देशन दिएको छ। यस कोषमा मुनाफाको केही अंश जम्मा गरिनेछ, जसलाई संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिनेछ।
लाभांश घोषणाका सर्तहरू
लाभांश घोषणा गर्दा केही मापदण्ड पालना गर्नुपर्नेछ।
-
सञ्चित मुनाफा ऋणात्मक नरहेको हुनुपर्छ,
-
मुनाफामा रहेको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्न पाइनेछ,
-
नगद लाभांशको हकमा पर्याप्त नगद मौज्दात अनिवार्य हुनेछ,
-
कर्जा सम्झौतामा भएको शर्तले लाभांश वितरणमा रोक नलगाएको हुनुपर्नेछ।
राष्ट्र बैंकको यो नयाँ मार्गदर्शनले वित्तीय अनुशासन मजबुत बनाउने तथा दीर्घकालीन वित्तीय स्थायित्वमा टेवा पुगाउने अपेक्षा गरिएको छ।

