तीव्र गतिमा अघि बढ्दै जनमुक्ति मार्ग, डाँडापारि क्षेत्र समृद्धितर्फ उन्मुख
धुलिखेल, २८ पुस – काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रलाई सडक सञ्जालमार्फत विकाससँग जोड्ने उद्देश्यले निर्माण भइरहेको जनमुक्ति मार्गको काम तीव्र गतिमा अघि बढाइएको छ । महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित सुरु गरिएको यो मार्ग अहिले बागमती प्रदेश सरकारको प्राथमिकतामा परेको छ ।
जनमुक्ति मार्ग बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट सुरु भई रजबास हुँदै महाभारत गाउँपालिकाको चारकिल्ला, तीनखुट्टे, देवीटार, घर्तिछाप, गोकुले र छोटेसाहन हुँदै खानीखोला गाउँपालिकाको तालढुङ्गा पुग्छ । त्यसपछि मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदन भण्डारी लोकमार्गसँग जोडिने यो सडकखण्ड करिब ८० किलोमिटर लामो छ ।
हाल रजबास–तीनखुट्टे खण्डअन्तर्गत महाभारत गाउँपालिकाको कोलटार आसपासमा पर्खाल, नाली निर्माण तथा सडक ढलानका लागि फलामे छड बिछ्याउने काम भइरहेको छ । तीनखुट्टे–देवीटार खण्डको खोलाघारी र घ्याब्रिङ क्षेत्रमा सडक निर्माण तथा देवीटार–घर्तिछाप लभडाँडा खण्डअन्तर्गत घर्तिछाप गाउँमा कालोपत्रका लागि बेस हाल्ने काम जारी रहेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।
त्यस्तै लभडाँडा–छोटेसाहन खण्डअन्तर्गत गोकुले, धापलगायत क्षेत्रमा नाली, पर्खाल निर्माण तथा कालोपत्रका लागि आधार तयार गर्ने काम भइरहेको छ । सुरुमा जिल्ला सदरमुकाम धुलिखेललाई पालिका केन्द्रसँग जोड्ने उद्देश्यले अगाडि बढाइएको यो सडक पछिल्लो समय बागमती प्रदेशको राजधानी हेटौँडासँग सहज आवतजावतका लागि विस्तार गरिएको हो ।
तीनखुट्टे–खोलाघारी–देवीटार ८ दशमलव ७ किलोमिटर सडकखण्ड निर्माणका लागि श्रेष्ठ–सक्षम जेभी सामाखुसीले २०७७ असारमा ठेक्का सम्झौता गरेको थियो । २०७९ असारमा सम्पन्न गर्ने लक्ष्य भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम लामो समय अलपत्र जस्तै बनेको थियो । तर, पालिका र प्रदेश सरकारको निरन्तर दबाबपछि म्याद थप गर्दै हाल कामलाई तीव्रता दिइएको छ ।
निर्माण कम्पनीका परियोजना प्रबन्धक रोहन खत्रीले अघिल्ला वर्षको तुलनामा यस वर्ष काम उल्लेखनीय रूपमा अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार कालोपत्रका लागि ३० जना र ड्रेन तथा पर्खाल निर्माणका लागि ३५ जना जनशक्ति खटाएर आगामी वैशाखसम्म काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
पूर्वाधार विकास कार्यालय धुलिखेलका सुपरभाइजर निर्मल दर्जीले पनि पछिल्लो समय कामले गति लिएको र गुणस्तरमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । त्यस्तै रजबास–चारकिल्ला–तीनखुट्टे खण्डअन्तर्गत कोलटार आसपासमा भइरहेको काम पनि अन्तिम चरणमा पुगेको छ ।
निर्माण कम्पनीका सम्पर्क प्रबन्धक सुजन गिरीका अनुसार करिब ९५ प्रतिशत संरचनागत काम सम्पन्न भइसकेको छ । १५ दशमलव ५ किलोमिटर सडकखण्डमध्ये ११ किलोमिटर कालोपत्र र साढे चार किलोमिटर ढलान भइरहेको छ । आगामी असारसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित करिब एक सय जना जनशक्ति खटाइएको उहाँले बताउनुभयो ।
महाभारत गाउँपालिका अध्यक्ष जिम्बाका अनुसार जनमुक्ति मार्गअन्तर्गत विभिन्न चरणमा नौ खण्डमा ठेक्का सम्झौता भई काम भइरहेको छ । करिब १८ किलोमिटर सडकबाहेक अन्य खण्डमा निर्माण कार्य निरन्तर भइरहेको र आगामी असारभित्र महाभारत गाउँपालिकाभित्र पर्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न हुने विश्वास लिइएको छ ।
सडक सञ्जाल र केन्द्रीय विद्युतीकरणलाई सो क्षेत्रको जीवनस्तर परिवर्तन गर्ने मुख्य पूर्वाधारका रूपमा लिइएको छ । केन्द्रीय विद्युतीकरणको काम सम्पन्न भइसकेको र सडक निर्माण पूरा भएपछि डाँडापारि क्षेत्रका नागरिकको आर्थिक तथा सामाजिक जीवनमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ ।

