दिक्तेल बजारको सडक ढलान सम्पन्न, अब सौन्दर्यकरणको काम सुरु
खोटाङ, २८ पुस – जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । विसं २०७६ मा सुरु गरिएको सडक ढलान सात वर्षपछि पूर्ण भएपछि बजार क्षेत्रका बासिन्दा राहत महसुस गरेका छन् । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै हिउँदमा धुलो र बर्खामा हिलोका कारण सास्ती भोग्नुपर्ने समस्या अन्त्य भएको छ ।
यसअघि साँघुरो, धुलाम्मे र हिलाम्मे सडकका कारण पैदलयात्री र सवारी चालक दुवै समस्यामा परेका थिए । उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले लामो प्रतीक्षापछि सडक ढलान सम्पन्न हुँदा दिक्तेल बजारको मुहार फेरिएको बताउनुभयो । उहाँका अनुसार सङ्घ र प्रदेश सरकारबाट उपलब्ध छ चरणको बजेटमार्फत सडक ढलान सम्पन्न गरिएको हो ।
दिक्तेलस्थित शङ्धर साख्वा चोकदेखि भानुचोकसम्मको सडक ढलान यही पुस २७ गते सम्पन्न भएको हो । कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय खोटाङको मूल्य अभिवृद्धि कर तथा पिएससहित रु ९५ लाख ८५ हजार ७८ लागतमा फास्ट एन्ड फास्ट कन्स्ट्रक्सन प्रालिले सडक ढलानको काम गरेको हो ।
निर्माण कम्पनीले २०८२ साल चैत २२ गतेभित्र काम सम्पन्न गर्ने गरी मङ्सिर २२ गते सम्झौता गरे पनि निर्धारित समयभन्दा करिब तीन महिना अगावै काम पूरा गरेको भौतिक पूर्वाधार कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभयो ।
यसअघि दिक्तेल बजारका अन्य सडकखण्ड ढलान भइसकेका थिए । बजेट अभावका कारण लामो समयसम्म काम अधुरो रहँदा राजनीतिक दलका नेताहरूको आलोचना हुँदै आएको थियो । ढिलै भए पनि सडक ढलान सम्पन्न भएपछि जिल्लावासी खुसी भएका छन् ।
सडक ढलानसँगै कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा दिक्तेल बजारको सौन्दर्यकरणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । सो बजेटबाट राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण तथा बजार क्षेत्रका विभिन्न स्थानमा सौन्दर्यकरणको काम सुरु गरिएको छ । जीर्ण अवस्थामा पुगेको भानुभक्तको सालिक हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनः निर्माण गरिने भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
सालिक पुनः निर्माणसँगै टाइल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकमा साङ्केतिक चिह्न राख्ने तथा भानुभक्तका कविताका केही हरफ समावेश गरिनेछ । सालिक पुनः निर्माण र बजार सौन्दर्यकरणका लागि कार्यालयले रु एक करोडको ठेक्का आह्वान गरेकोमा सुदेवी कन्स्ट्रक्सन प्रालि, हलेसी खोटाङले रु ८१ लाख नौ हजार २२९ मा सम्झौता गरी काम सुरु गरेको छ ।
पूर्वाधार विकासको काम सम्पन्न भएपछि दिक्तेल बजारको व्यवस्थापन, सौन्दर्य र ऐतिहासिक, साहित्यिक तथा पर्यटकीय महत्व थप बढ्ने अपेक्षा गरिएको छ । सौन्दर्यकरणका क्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा काठमाडौँस्थित ललितकला क्याम्पसबाट आएका विद्यार्थीले विभिन्न चित्रकला निर्माण गरिरहेका छन् ।

