दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश
काठमाडौँ, ९ जेठ – दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जले आफ्नो प्रसारण सेवाको २६ औ वर्ष पूरा गरेको छ । २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश गरेको अवसरमा रेडियोले विशेष समारोहको समेत आयोजना गरेको थियो ।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् प्रवक्ता रेखा शर्माको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री शर्माले रेडियो सगरमाथाले राजनैतिक व्यवस्था र सामाजिक अवस्था सुधार्न खेलिरहेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।
दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक रेडियोका रुपमा स्थापित रेडियो सगरमाथाले आमसञ्चारका माध्यमबाट सर्वसाधारणमा जनचेतना फैलाउनका लागि महत्वपूणर् भूमिका निर्वाह गर्दै आइरहेकाले आगामी दिनमा समयकालीन र समाजको आवश्यकता अनुसारका कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।
मन्त्री शर्माले कठिन परिस्थितिमा पनि सूचनाको भरपर्दो माध्यम रेडियो नै भएको उल्लेख गर्नुभयो । सञ्चार जगतको खबरदारीले गर्दा राजनैतिक परिवर्तन पनि सम्भव भएको बताउँदै समाजका हरेक गतिविधिमा सकारात्मक खबरदारीको आवश्यकता हुने औल्याउनुभयो ।

सोहि कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै ललितपुर महानगरपालिकाका उप-प्रमुख मञ्जली शाक्य बज्राचार्यले स्थानीय स्तरका सवालहरुलाई रेडियो सगरमाथाले उठान गर्दै आइरहेको बताउनुभयो । उहाँले वातावरण तथा सामाजिक विषयवस्तुलाई बढी जोड दिइरहेकाले महानगर रेडियोसंग आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
त्यसैगरी सञ्चार सचिव कृष्णबहादुर राउतले आफूले विद्यार्थीकालदेखि निरन्तर रेडियो सगरमाथाका कार्यक्रमलाई सुन्दै आइरहेको बताउनुभयो । रेडियोबाट प्रसारित कार्यक्रमबाट थप ज्ञानगुनका साथै सूचनामूलक सन्देश प्राप्त गर्न सकिने भएकाले यसको विश्वनीयतामा शंका गर्नु पर्ने ठाउँ नरहेको स्मरण गर्नुभयो ।
सो अवसरमा उहाँले बन्दै गरेको आमसञ्चार विधेयकमा सामुदायिक रेडियोका कुरा समेट्ने प्रतिबद्धता समेत जनाउनुभयो । सोहि कार्यक्रममा बोल्दै पे्रस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले सञ्चार जगतका समस्या समाधानका लागि अभिभावकीय भूमिका खेल्न नसकेको गुनासो गर्नुभयो । उहाँले राज्यको अवस्था देखि व्यवस्था परिवर्तनमा सञ्चार क्षेत्रले खेलेको भूमिकालाई बिर्सिन नहुने तर्क राख्नुभयो ।
अध्यक्ष बस्नेतले रेडियो सगरमाथा सबै रेडियोहरुका लागि सिकाइको केन्द्रका रुपमा रहेको धारणा व्यक्त गर्नुभयो । त्यसैगरी वरिष्ठ पत्रकार भैरव रिसालले जस्तोसुकै परिस्थितिमा पनि रेडियो सगरमाथाले आफ्नो प्रसारण सेवालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
रेडियो सगरमाथाका स्टेसन म्यानेजर उर्वसी बस्न्यातले सामुदायिक रेडियोहरुलाई प्रविधिको विकाससंगै समय सापेक्ष ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाले विगत लामो समयदेखि सगरमाथा एफएमले वातावरण र दिगो विकासका सवालमा आफ्ना कार्यक्रमहरु केन्द्रित गरीरहेको स्मरण गर्दै आगामी दिन अझै सशक्त ढंगले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका प्रमुख निमप्रकाश सिंह राठौर, सामुदायिक रेडियो प्रसारक संघका पूर्व अध्यक्ष सुवास खतिवडा, अमार्कका प्रतिनिधि सुमन बस्नेत, व्यंग्यकार कृष्णमुरारी गौतम (चट्याङ्ग मास्टर), सञ्चारिका समूहका अध्यक्ष विमला तुमखेवा, सिआईएनका व्यवस्थापक दिपक आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष रोशनी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको सञ्चालन नवराज सञ्जेलले गर्नुभएको थियो । कार्यक्रमका अवसरमा रेडियोलाई अहिले सम्मको अवस्थामा पुर्याउन महत्वपूणर् भूमिका निर्वाह गर्ने १३ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
प्रारम्भमा काठमाडौँको पक्नाजोल कालधाराबाट प्रसारण सुरु गरेको रेडियो सगरमाथाले ललितपुरको पाटनढोका र बखुण्डोल हुँदै हाल ललितपुरकै भनीमण्डल स्थित आफ्नै भवनवाट सेवा दिइरहेको छ ।
वि.स. २०५२ सालबाटै परीक्षण प्रसारण शुरू गरे पनि वि.स. २०५४ साल जेठ ९ गतेबाट बिधिवत रूपमा १०२ दशमलव ४ मेगाहर्जमा प्रसारण शुरू गरेको दक्षिण एसियाको पहिलो सामुदायिक रेडियोका रुपमा परिचित छ ।
सामाजिक न्याय र सकारात्मक सामाजिक परिवर्तनका लागि बैकल्पिक रेडियो मिडियाका रूपमा स्थापित रेडियो सगरमाथा व्यापारिक रेडियो र सरकार नियन्त्रित रेडियोको बीचमा निर्भिक, स्वतन्त्र र स्वच्छ छवि कायम राखी अगाडि बढिरहेको छ । यसले रेडियो प्रसारण क्षेत्रमा सरकारी नीति, ऐन र व्यवहार परिवर्तनका लागि निकै लामो र नेतृत्वदायी सङ्घर्ष गरेको इतिहास छ ।
रेडियोले दिगो विकास र वातावरणीय मुद्धालाई समेत समाचार र कार्यक्रमका माध्यमबाट सशक्त रुपमा उठान गर्दै आइरहेको छ । रेडियो सगरमाथालाई नेपाल र दक्षिण एसियाकै अग्रणी र नमुना सामुदायिक रेडियोको रूपमा लिने गरिन्छ ।

