माघी नजिकिएसँगै थारू समुदाय ढिक्री बनाउनेमा व्यस्त

दाङ, २८ पुस – दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी अहिले ढिक्री बनाउनमा व्यस्त हुनुहुन्छ। माघी नजिकिँदै गर्दा उहाँले पारिवारिक र सांस्कृतिक परम्पराअनुसार ढिक्री तयार पार्दै हुनुहुन्छ।

त्यस्तै, तुलसीपुर–१० बनकाउकी विझौनी थारू पनि ढिक्री बनाउनमा व्यस्त देखिएका छन्। माघी नजिकिएसँगै सम्पूर्ण थारू समुदायमा ढिक्री बनाउने चटारो देखिन थालेको छ। थारू समुदायका लागि ढिक्री हरेक चाडपर्वमा मुख्य परिकार हो। सुङ्गुरको मासु, माछा, घोँगीलगायतसँग यो परिकार खाइन्छ।

ढिक्री चामलको पीठोबाट तयार हुन्छ। चामल मिचेर लाम्चो आकार दिइन्छ। माघीमा लाम्चो आकारको ढिक्री बनाइन्छ भने दसैँमा गोलो आकारको, तिहारमा चेप्टो वा दियो जस्तो बनाइन्छ। तयार ढिक्रीलाई पानीको बाफमा करिब आधा घण्टा उसिनेर पकाइन्छ। ढिक्रीमा तेल वा चिनी प्रयोग हुँदैन, त्यसैले स्वास्थ्यका लागि सुरक्षित मानिन्छ। पौराणिक विश्वास अनुसार ढिक्री खाँदा मानिसको आयु बढ्ने पनि मानिन्छ।

Facebook Comments Box