वीरगञ्जमा निषेधाज्ञा जारी

पर्सा, २१ पुस – पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी गरिएको छ । सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा लागू गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लागू हुनेछ ।

उक्त क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने सूचनामा उल्लेख छ । निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

वीरगञ्जमा मस्जिद तोडफोड, आगजनीलगायत घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए । त्यसैगरी हिन्दू मन्दिर तथा देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानदेखि हिन्दुवादी समूहहरू पनि प्रदर्शनमा उत्रिएका थिए ।

आज बिहान १० बजे समेत हिन्दुवादी संगठनहरूले वीरगञ्जमा प्रदर्शन गरेका थिए । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार दुवै समुदायका प्रदर्शनलाई ध्यानमा राख्दै सम्भावित तनाव रोक्न निषेधाज्ञा जारी गरिएको हो । प्रशासनले वार्तामार्फत विवाद समाधानका लागि प्रयास भइरहेको पनि जनाएको छ ।

Facebook Comments Box