कञ्चनपुरमा आजदेखि जलपंछी गणना सुरु

कञ्चनपुर, १९ पुस – सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपंछीहरूको अवस्था, प्रजाति र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जलपंछी गणना सुरु गरिएको छ ।

नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेतृत्वमा निकुञ्जभित्रका जलाशय, तालतलैया र सिमसार क्षेत्रका साथै निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा गणक परिचालन गरिएको छ ।

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एशोसिएशन तथा कञ्चनपुर पंछी संरक्षण समूहका प्रतिनिधिहरू सहभागी छन् ।

नेपाल पंछी संरक्षण सङ्घका वरिष्ठ चरा विज्ञ हिरुलाल डगौराका अनुसार बाइनाकुलर, दूरबिन, क्यामेरा, जिपिएसलगायतका उपकरण प्रयोग गरी २० भन्दा बढी गणकमार्फत जलपंछी गणना भइरहेको छ । हिँडेर पुग्न नसकिने तालतलैया क्षेत्रमा हात्ती प्रयोग गरेर गणना गरिनेछ ।

उहाँका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र जलपंछीका लागि चर्चित शिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी–बढनी ताल, राधापुर सिमसार, झिलमिला र रतनपुर सिमसारमा गणना भइरहेको छ । त्यस्तै निकुञ्ज बाह्य क्षेत्रमा महाकाली नदी, पुरैनी ताल, बन्दा ताललगायत सिमसार क्षेत्रमा पनि गणना गरिनेछ ।

गणनाका क्रममा जलपंछीका प्रजाति, सङ्ख्या, सम्भावित खतरा, मानव गतिविधि तथा बासस्थानसँग सम्बन्धित समस्याको विवरण सङ्कलन गरिनेछ । प्रत्येक वर्ष जनवरीको पहिलो शनिबारदेखि सुरु हुने जलपंछी गणना यस वर्ष पुस १९ देखि माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

चरा विज्ञ डगौराका अनुसार कञ्चनपुरका सिमसार क्षेत्रहरू जलपंछीका लागि महत्वपूर्ण भए पनि पछिल्लो समय सिमसार अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि, प्रदूषण तथा जलवायु परिवर्तनका कारण बासस्थान खुम्चिँदै गएको छ ।

“पछिल्ला केही वर्षयता कञ्चनपुरका सिमसार क्षेत्रमा जलपंछीको सङ्ख्या घट्दो क्रममा देखिएको छ,” उहाँले भन्नुभयो, “विशेषगरी आगन्तुक जलपंछीको आगमनमा उतारचढाव आएको छ, जसको मुख्य कारण बासस्थानको असुरक्षा हो।”

पहिले एउटै तालमा ७० भन्दा बढी प्रजातिका जलपंछी देखिने गरेकामा हाल त्यो सङ्ख्या करिब आधामा झरेको उहाँले उल्लेख गर्नुभयो । जलपंछी संरक्षणका लागि तालतलैया तथा सिमसार क्षेत्रमा भइरहेको अतिक्रमण नियन्त्रण आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल सेन्ट्रल एसियन फ्लाइवेअन्तर्गत पर्ने महत्वपूर्ण देश भएकाले एसिया, युरोप र साइबेरियाबाट आउने प्रवासी जलपंछीहरू नेपालका सिमसार क्षेत्रमा आश्रित रहने डगौराले बताउनुभयो । जलपंछी गणनाले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा संरक्षण रणनीति तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ ।

Facebook Comments Box