कामपा–३० का विभिन्न स्थानमा एआई प्रविधियुक्त ‘सिसिटिभी क्यामरा’ जडान
काठमाडौँ, १९ पुस – काठमाडौँ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्कसमेत उपलब्ध गराउने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएको छ । हिकभिजन ब्रान्डका २९ वटा क्यामरा एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित रहेका छन् ।
चीनको विश्वप्रसिद्ध सूचना प्रविधि कम्पनी हिकभिजनद्वारा उत्पादित ती क्यामराहरू शान्ति सुरक्षा, सडक दुर्घटना नियन्त्रण तथा अन्य निगरानी प्रयोजनका लागि प्रयोग गरिन्छन् । विकसित शहरहरूमा यस्ता प्रविधिको प्रयोग बढ्दो क्रममा रहेको छ ।
हिकभिजन ब्रान्डको नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीका अनुसार ती क्यामरा ‘ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम’ (ओएनभीआइएफ) प्रोटोकलमा आधारित छन् ।
आठ मेगापिक्सेल र चार मेगापिक्सेल क्षमताका क्यामराले ५५० मिटरसम्मको दूरीका दृश्य स्पष्ट रूपमा खिच्न सक्ने क्षमता राख्छन् भने अत्याधुनिक ‘बुलेट क्यामरा’ले ६० मिटरसम्मको स्पष्ट दृश्य प्रदान गर्छन् ।
उहाँका अनुसार इन्बिल्ट एआई फिचर भएका क्यामराले सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार पहिचान गर्न, मानिस तथा सवारी साधनको आवतजावत हेर्न, गणना गर्न र अवस्थाको विश्लेषण गर्न सकिन्छ । साथै पिटिजेड (दायाँ–बायाँ घुम्ने, माथि–तल सर्ने तथा जुम इन–आउट हुने) सुविधाका कारण महत्वपूर्ण सूचना र विवरण सहजै प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।
अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा ती क्यामरा काठमाडौँ महानगरपालिका वडा नम्बर ३० को कार्यालयलाई हस्तान्तरण गरिएको म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालिका निर्देशक कमल तामाङले जानकारी दिनुभयो ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगरलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुसार फाइबर सञ्चालन प्रणालीमार्फत सिसिटिभी निगरानी गर्ने लक्ष्य रहेको बताउनुभयो ।
वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले अब सुरक्षा अवस्था तथा अन्य निगरानीका काम क्यामरा मार्फत निगरानी कक्षबाटै गर्न सकिने जानकारी दिनुभयो ।
वडा सचिव देवराज जोशीका अनुसार करिब ७० लाख रुपैयाँको लागतमा नयाँ किरण अल नेपाल जेभीबाट सिसिटिभी जडान गरिएको हो । महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायब उपरीक्षक धनबहादुर बोहराले सिसिटिभी क्यामरालाई ‘तेस्रो आँखा’को संज्ञा दिँदै यस्ता क्यामराले अपराध नियन्त्रण, अपराधी पक्राउ, दुर्घटनापछि तत्काल उद्धार तथा अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

