त्रिवेणीधाममा माधव नारायण मेला सुरु

भक्तपुर, १९ पुस – भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्म सञ्चालन हुने माधव नारायण मेला तथा व्रत सुरु भएको छ । यो मेला नेपाल संवत्को आठौँ शताब्दीदेखि प्रारम्भ भएको विश्वास गरिन्छ ।

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने यस मेलामा व्रतालुले त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ अर्पण गर्दै माधव नारायणको पूजा गरेपछि व्रत आरम्भ गर्ने परम्परा रहेको पुजारी सरोजन शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार साँखुको शालिनदीमा सुरु भएको माधव नारायण व्रतभन्दा पहिलेदेखि त्रिवेणीधाममा यो मेला तथा व्रत प्रचलनमा रहेको शिलालेख र ऐतिहासिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । तत्कालीन राजा रणजित मल्ल स्वयं उपस्थित भई व्रत प्रारम्भ गरेको तथ्य शिलालेखमा भेटिने उहाँले बताउनुभयो ।

माधव नारायणको व्रत बस्ने व्रतालुले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहान सबेरै त्रिवेणीमा स्नान गरी चोखो जल र पूजा सामग्रीद्वारा पूजा गर्ने, शङ्ख जल ग्रहण गर्दै मन्त्रोच्चारण गर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई नछुने र जुत्ता नलगाउने परम्परा रहेको शर्माले जानकारी दिनुभयो । त्रिवेणीधाममा दैनिक नित्य पूजा, माधव नारायणको कथा वाचन तथा हनुमानघाटस्थित त्रिवेणी कुण्डमा स्नान गरिने गरिन्छ ।

नेसं ७२२ मा राजा रणजित मल्लले स्वयं व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख रहेको बताउँदै पुजारी शर्माले त्रिवेणीघाटमा डुबुल्की मारी एकचित्त भएर मागिएको इच्छा पूरा हुने जनविश्वासका कारण यहाँ व्रत बस्ने र स्नान गर्न आउनेको संख्या बढेको उल्लेख गर्नुभयो ।

व्रतालु विनोदकुमार प्रजापतिका अनुसार व्रत अवधिभर खाली खुट्टा पैदल यात्रा गर्ने परम्परा छ । व्रतालुले तील माधवबाट तलेजु भवानीसम्म यात्रा गर्ने, सप्तमीमा पनौती पुगेर त्रिवेणीमा स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गर्ने, अष्टमीमा फर्कने, दशमीमा पशुपति क्षेत्रमा स्नान गरी जल चढाएर जयवागेश्वरी–ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नान गरी चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमामा नगरपरिक्रमा गरी भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश अर्पण गरी व्रत समापन गर्ने परम्परा रहेको छ ।

पुजारी मनोज शर्माका अनुसार केही व्रतालु एक महिनासम्म त्रिवेणीघाटमै बसेर व्रत पूरा गर्छन् भने कतिपय व्रतालु दैनिक बिहान स्नान गर्न आउने र विभिन्न स्थानको कलश यात्रामा सहभागी हुने गर्छन् ।

त्रिवेणीधाममा एक महिनासम्म गणेश, कुमार, फूल ल्याउने माली तथा पाँच जना गुरु पुरोहितले व्रत र पूजाको व्यवस्थापन गर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

एक महिनापछि माघ शुक्ल पूर्णिमाका दिन बिहान त्रिवेणी खोलामा स्नान गरी माधव नारायणको पूजा, होम आहुती र भक्तपुर नगरका विभिन्न देवालयहरूको परिक्रमा गर्दै भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश अर्पण गरी व्रत समापन गरिन्छ ।

आजदेखि एक महिनासम्म त्रिवेणीधाममा माधव नारायणको कथा वाचन गरिनेछ । यस वर्ष सात जना महिलाले त्रिवेणीधाममै बसेर व्रत पूरा गर्ने भएका छन् । तालाक्वोका ११ वर्षीय क्रिजल प्रजापतिदेखि ६५ वर्षीय ज्येष्ठ नागरिकसम्मले त्रिवेणीधामका जलाशयमा बसेर व्रत सुरु गरेका छन् ।

माधव नारायण व्रत समितिका अनुसार यस वर्ष महिला र पुरुष गरी ३५ जनाले माधव नारायणको व्रत बसेका छन् । समितिले त्रिवेणीधाममा महिलाहरूका लागि मात्र व्रत बस्ने विशेष व्यवस्था गरेको जनाएको छ ।

हनुमन्ते खोलामा ढल मिसिएर पानी प्रदूषित बनेकाले व्रत बस्नेको सङ्ख्या घट्दै गएको व्रतालुहरूको गुनासो छ । भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित त्रिवेणीधाम क्षेत्रमा मेला सञ्चालनका लागि डोजर प्रयोग गरी स्नानका लागि खाल्डो बनाएको र त्यसमा रातिको बग्ने पानी तथा इनारको पानी संकलन गरी स्नानको व्यवस्था मिलाइएको जनाएको छ ।

Facebook Comments Box