बजार पहुँच नहुँदा भोजपुरका किसानको दूध घरमै खपत

भोजपुर, १० पुस – भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन हुने दूध बजारसम्म पु¥याउन नसकिँदा किसानहरू घरायसी प्रयोजनमै खपत गर्न बाध्य भएका छन्। बजार व्यवस्थापन र सङ्कलन प्रणालीको अभावका कारण गाउँघरका किसानले उत्पादनअनुसारको आम्दानी लिन नसकेको गुनासो गरेका छन्।

सदरमुकाम आसपास तथा राजमार्ग क्षेत्रमा उत्पादन भएको दूध बिक्री गर्न सहज भए पनि दुर्गम गाउँबाट दूध बजारसम्म ल्याउन कठिनाइ भइरहेको किसानको भनाइ छ। भोजपुर बजारमा रहेका तीनवटा डेरी उद्योगले सदरमुकाम नजिकका क्षेत्रबाट मात्र दूध सङ्कलन गर्दै आएका छन्। बजारको क्षमता सीमित भएकाले ग्रामीण क्षेत्रको दूध सङ्कलन गर्न नसकिएको डेरी व्यवसायी बताउँछन्।

टेम्केमैयुङ गाउँपालिका–५ का कृषक अडिबहादुर विष्टका अनुसार दूध बिक्रीको वातावरण नहुँदा दैनिक उत्पादन मही बनाएर खपत गर्नुपर्ने अवस्था छ। “दैनिक आठदेखि १० लिटर दूध उत्पादन हुन्छ, तर बिक्रीको व्यवस्था नहुँदा घरमै मही पारेर खानुपरेको छ,” उहाँले भन्नुभयो, “यदि बाह्य बजारसम्म पु¥याउने व्यवस्था भए किसानको आम्दानी उल्लेख्य रूपमा बढ्ने थियो।”

केही किसान व्यावसायिक रूपमा पशुपालन गर्दै आए पनि लगानी र मेहनतअनुसारको प्रतिफल पाउन नसकेको गुनासो गर्छन्। हाल सदरमुकाम आसपासका बोखिम, दावा, पोखरे, खुरीला, ढुङ्गे र श्यामशिलालगायत क्षेत्रका किसानले मात्र दूध बिक्री गर्न सकेका छन्।

Facebook Comments Box