दुईजना प्रदेशसभा सदस्यसहित नेता-कार्यकर्ता एकीकृत समाजवादीबाट एमालेमै फर्किए
काठमाडौं, १३ असोज – तत्कालीन अवस्थामा पार्टी विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका मधेश प्रदेशका दुईजना प्रदेश सभा सदस्यहरु एमालेमै फिर्ता भएका छन्। प्रदेश सभा सदस्यद्वय सुन्दर विश्वकर्मा र सीता गुरुङ बिहीबार काठमाडौंको च्यासल पुगेर एमालेमै फर्किएका हु्न्।
मधेश प्रदेश सभा सदस्य विश्वकर्मा एकीकृत समाजवादी बाराका अध्यक्ष पनि रहेका छन्। २०७४ को निर्वाचनमा विश्वकर्मा बारा क्षेत्र नम्बर ४ ‘क’ बाट विजयी भएका थिए।
एमालेमा फर्किएकी गुरुङ समानुपातिकबाट प्रदेश सभा सदस्य चयन भएकी थिइन्। बारामा तत्कालीन अवस्थामा पनि एमाले जिल्ला अध्यक्ष विश्वकर्मा पार्टी विभाजित हुँदा एकीकृत समाजवादीतिर लागेका थिए।
दुईजना प्रदेशसभा सदस्यसहित २५ जना पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर एमालेमा फर्किएका एमाले बारा जिल्ला कमिटी अध्यक्ष विनोद साहले बताएका छन्।
एमाले फिर्ता भएकाहरुमा केन्द्रीय परिषद् सदस्य कौशलकिशोर सिंह, विद्या थापा, दशरथ राम, मीन रहपाल, महेश विश्वकर्मा, मञ्जु खनाल, मञ्जु भट्टराई, अच्छेलाल राम र मुक्ति सहनीसहित छन्।

