आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ, १० पुस – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदै छ। क्रिश्चियन समुदायले यस दिनलाई उल्लास, प्रार्थना र शुभकामना आदान–प्रदान गर्दै मनाउने परम्परा छ।विश्वासअनुसार आजभन्दा करिब दुई हजार वर्षअघि डिसेम्बर २५ का दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा कुमारी मरियमबाट भएको थियो।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिनुभएको विश्वास गरिन्छ। यही कारण क्रिसमसलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाइने गरिएको उहाँले बताउनुभयो।

नेपालमा विसं २०६३ पछि महासङ्घले क्रिसमसलाई महोत्सवका रूपमा मनाउन थालेको हो। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव–२०८२’ आयोजना गरिएको छ, जसमा सरकारका प्रतिनिधि, विभिन्न निकायका अधिकारी तथा मानव अधिकारकर्मीको सहभागिता रहने जनाइएको छ।

नेपालमा विसं २०६३ देखि २०७४ सम्म क्रिसमस डे सार्वजनिक बिदाका रूपमा मनाइँदै आएको थियो। विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो भने विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ।

यस अवसरमा काठमाडौँका प्रमुख सहर तथा पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा र सौराहालगायत स्थानमा क्रिसमस ‘ट्रि’ र बत्तीले सजावट गरिएको छ। महासङ्घका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेका छन्।

Facebook Comments Box