काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनका लागि ‘सुन्तला–हाइकिङ’ कार्यक्रम

काभ्रेपलाञ्चोक, १० पुस – कृषि र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकमा ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ। परीक्षण र प्रवर्द्धनका रूपमा आयोजना हुन लागेको उक्त कार्यक्रम होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजनामा तथा धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा हुने भएको हो।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च र रोटरी क्लब अफ धुलिखेलले सहकार्य गर्ने जनाइएको छ। हान काभ्रेका अध्यक्ष प्रह्लाद प्याकुरेलका अनुसार जिल्लाको कृषि उत्पादन र पर्यटनलाई जोड्ने लक्ष्यसहित डेढ दशकपछि ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको हो।

यसअघि सन् २०१० मा नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशीला (नेटिफ) ले नेपाल पर्यटन बोर्डको सहयोगमा नमोबुद्ध–बल्थली ‘सुन्तला–हाइकिङ’ आयोजना गरेको थियो। केही वर्षपछि सुस्ताएको उक्त कार्यक्रम यसपटक नयाँ स्वरूपमा पुनर्जीवित गरिन लागेको हो। क्रिसमसको अवसर पारेर बिहीबार औपचारिक रूपमा कार्यक्रम शुभारम्भ गरिने आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत नमोबुद्धदेखि बल्थलीसम्म पदयात्रा गरिनेछ। पदयात्रीहरूले सुन्तला बगैँचाको अवलोकन गर्दै बोटबाटै ताजा सुन्तला चाख्न पाउनेछन्। साथै नमोबुद्धको धार्मिक वातावरण र बल्थलीको प्राकृतिक सौन्दर्यसँगै लड्केश्वर महादेवस्थान परिसरमा रहेको विश्वकै अग्लो त्रिशूललगायत धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्ने अवसर मिल्नेछ।

क्रिसमसको बिदा भएकाले पर्यटन व्यवसायी, उद्योगी, जनप्रतिनिधि, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर, सुरक्षा निकायका प्रमुख, ट्राभल एजेन्सी तथा कृषिसम्बद्ध पदाधिकारीसहित १०० भन्दा बढी सहभागी रहने आयोजकको अपेक्षा छ। हानले यस कार्यक्रमको अनुभवका आधारमा आगामी वर्षदेखि नोभेम्बर–डिसेम्बरको सुन्तला सिजनमा एक महिनाको विशेष ट्राभल प्याकेज सञ्चालन गर्ने लक्ष्य लिएको छ।

प्याकेजमा होटल–रिसोर्टका दरमा छुटसहित विविध आकर्षण समावेश गरिने योजना छ। आगामी वर्षदेखि कम्तीमा एक हजार पर्यटक काभ्रेपलाञ्चोक भित्र्याउने तयारी रहेको हानले जनाएको छ। यसबाट स्थानीय होटल, रिसोर्ट, होमस्टे र कृषकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। हाल जिल्लामा ३२ वटा स्तरीय होटल तथा रिसोर्ट हानमा आबद्ध छन्।

यसैबीच जिल्ला कृषि विकास कार्यालयले यस वर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण गरेको छ। कार्यालय प्रमुख कुलप्रसाद दवाडीका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार यस वर्ष करिब आठ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ। गत वर्ष भने बाढीपहिरोका कारण उत्पादनमा करिब सात प्रतिशत गिरावट आएको थियो।

Facebook Comments Box