धरौटी र बैंक जमानत बुझाएपछि रास्वपा सभापति लामिछाने थुनामुक्त

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालतको आदेशअनुसार धरौटी तथा बैंक जमानत बुझाएपछि थुनामुक्त भएका छन्।

जिल्ला अदालत रुपन्देहीमा उनले एक करोड रुपैयाँ धरौटी र बिगो वापत दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएका हुन्।

सो बराबरको बैंक जमानत बुझाएसँगै उनलाई रिहा गरिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो।“उच्च अदालतको आदेशअनुसार बैंक जमानत बुझाएपछि उहाँ छुट्नु भएको हो,” अर्यालले बताउनुभयो।

लामिछानेले यसअघि थुनछेक आदेशका क्रममा एक करोड रुपैयाँ धरौटी बुझाइसकेका थिए भने पौने तीन करोड रुपैयाँ बराबरको बैंक जमानतसमेत पहिले नै निवेदनसाथ पेश गरिसकेका थिए।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार दिएको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी उनलाई शुक्रबार साँझ रिहा गरिएको हो।

उच्च अदालतले उनलाई विदेश भ्रमण गर्दा अदालतको अनुमति लिनुपर्ने, मुद्दाको अन्तिम फैसला हुँदा थप दायित्व सिर्जना भए स्वीकार गरी तिर्नुपर्ने लगायत सर्तहरू तोकेको छ।

Facebook Comments Box