चौध दिनदेखि बेपत्ता साहिल राईको खोजीका लागि परिवारको आग्रह
काठमाडौं, ४ पुस – ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता भएका १६ वर्षीय साहिल राईको खोजीका लागि उनका परिवारले सहयोगको आग्रह गरेका छन्।
उदयपुरको बेलका नगरपालिका–३ स्थायी घर भई हाल ललितपुरको ढोलाहिटीमा बस्दै आएका राई बेपत्ता भएको १४ दिन बितिसक्दा पनि कुनै सम्पर्क नआएपछि परिवार चिन्तित बनेको छ।
राईका दाइ सलिन राईका अनुसार मंसिर २३ गते नै जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिइएको थियो। तर हालसम्म पनि उनको अवस्थाबारे कुनै जानकारी नआएकाले सर्वसाधारणलाई सहयोगको अपिल गरिएको हो।
“मेरो भाइ पहिलो पटक यसरी सम्पर्कविहीन भएको हो,” सलिन राईले भन्नुभयो, “उहाँ बा प्र ०२–०५५ प ४७५९ नम्बरको स्कूटरसहित कसैलाई जानकारी नदिई घरबाट निस्किनुभएको थियो, तर अहिलेसम्म फेला पार्न सकेका छैनौँ।”
परिवारले आफ्ना सबै स्रोत र सम्भावित स्थानमा खोजी गरिरहेको जनाउँदै साहिललाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा सलिन राईको मोबाइल नम्बर ९७६२४२९८९९ मा सम्पर्क गरिदिन आग्रह गरेको छ।

