राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

खोटाङ, २९ मङ्सिर – राजनीति गर्दैमा अन्य पेसा गर्न नहुने भन्ने मान्यता सर्वमान्य छैन । राजनीतिलाई मात्र पेसा बनाउँदा मुलुकमा भ्रष्टाचार बढेको आरोपसमेत लाग्दै आएको सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमार्फत उदाहरणीय अभ्यास प्रस्तुत गर्नुभएको छ ।

राईले दिक्तेल बजारमा स्थानीय कृषि उत्पादनको मूल्य अभिवृद्धि र घरेलु उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आउनुभएको छ । केन्द्रमार्फत स्थानीय किसानले उत्पादन गरेका मकै, फापर–कोदो, धान, तोरीको तेल, राँगाको मासु, रायोको सागलगायतका कृषि उपज सङ्कलन, प्रशोधन र बिक्री हुँदै आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यसमेत रहनुभएकी राईले विसं २०७६ मा रु पाँच हजारको लगानीबाट व्यवसाय सुरु गर्नुभएको हो । सुरुमा २५ केजी मकैको च्याँख्ला र १० प्याकेट गुन्द्रुक–सिन्की राखेर सुरु गरिएको यो व्यवसाय अहिले उल्लेख्य रूपमा विस्तार भएको छ । हाल उहाँको पसलमा मकैको च्याँख्ला, फापर–कोदोको पिठो, चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडी, हरियो सागसब्जी तथा डालो–नाङ्लोजस्ता सामग्री उपलब्ध छन् ।

भूमिगत राजनीतिदेखि चार वर्षसम्म सङ्घीय संसद्को जिम्मेवारी निर्वाह गरिसक्नुभएकी राईका लागि सुरुमा व्यापारमा लाग्नु जोखिमपूर्ण थियो । कृषि उपजको बजार कत्तिको सम्भावनायुक्त होला भन्ने अनिश्चितता भए पनि परम्परागत स्वाद खोज्ने उपभोक्ताको चासो बढ्दै गयो ।

व्यवसाय विस्तारसँगै उहाँले हाल धरान, काठमाडौँ, हङकङ, सिङ्गापुर तथा स्थानीय हाटबजारमा समेत सामग्री आपूर्ति गर्दै आउनुभएको छ । विदेशमा रहेका नेपालीबीच परम्परागत खाद्यवस्तुको माग बढ्दै जाँदा व्यवसाय विस्तारमा थप सहयोग पुगेको उहाँले बताउनुभयो ।

हेटौँडा महाधिवेशनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेता तथा कार्यकर्तालाई उत्पादन र उद्यममा जोडिनुपर्ने नीतिगत निर्णय गरेपछि आफू उद्यमतर्फ प्रेरित भएको राईको भनाइ छ । “पहिले पार्टीका काममै पूरा समय दिनुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो, “शान्ति प्रक्रिया र गणतन्त्र स्थापनापछि संगठनात्मक जिम्मेवारीसँगै उत्पादनमूलक क्षेत्रमा लाग्ने वातावरण बन्यो ।”

‘नेताले पनि आयआर्जनका स्रोत बनाउनुपर्छ’ भन्ने पार्टीको निर्णयले आफूलाई थप प्रेरणा मिलेको उहाँले बताउनुभयो । “किसान र उपभोक्तासँग प्रत्यक्ष जोडिन पाउँदा सामाजिक र राजनीतिक चेतनामा सकारात्मक प्रभाव परेको छ,” उहाँले भन्नुभयो, “राजनीति निःस्वार्थ हुनुपर्छ, त्यसका लागि नेताले आत्मनिर्भर हुने बाटो रोज्नुपर्छ ।”

प्रशोधन केन्द्र सञ्चालनमा सबैभन्दा ठूलो चुनौती वर्षभरि समान रूपमा कच्चा पदार्थ उपलब्ध नहुनु रहेको राईले बताउनुभयो । उहाँका अनुसार सिजनमा उत्पादन पर्याप्त भए पनि अन्य समयमा अभाव हुने गरेको छ । पसलमा उपलब्ध सामग्रीको मूल्य लागतमा २०–२५ प्रतिशत नाफा जोडेर निर्धारण गरिने र उपभोक्तालाई यथार्थ मूल्यमा सामग्री उपलब्ध गराइने उहाँको भनाइ छ ।

स्थानीय उत्पादनमा आधारित यस्ता उद्यमले रोजगारी सिर्जना, आत्मनिर्भरता र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने उल्लेख गर्दै राईले राजनीति क्षेत्रमा रहेका अन्य व्यक्तित्वलाई पनि कृषि तथा स्थानीय उद्योगमा जोडिन आग्रह गर्नुभएको छ । दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षसमेत रहनुभएकी राई विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन जनमोर्चा नेपालबाट समानुपातिकतर्फ संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

Facebook Comments Box