एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

काठमाडौँ, २९ मङ्सिर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन प्रक्रिया हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोगले बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेपछि मनोनयन प्रक्रिया सुरु हुनेछ । आयोगले हिजो मतदाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो । कार्यतालिकाअनुसार आज बिहान ९ः०० देखि दिउँसो १२ः०० बजेसम्म उम्मेदवारका लागि दरखास्त फारम वितरण गरिनेछ ।

मनोनयनपछि आजै दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने २ः३० देखि ३ः०० बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ । यस्तै, उम्मेदवारको नाम फिर्ता लिन दिउँसो ३ः१० देखि ५ः०० बजेसम्म समय तोकिएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावली साँझ ६ः०० बजे प्रकाशित गर्ने जनाएको छ ।

निर्वाचन आयोगका अनुसार आज सबै प्रक्रिया सम्पन्न गरी भोलि पुस १ गते निर्वाचन हुनेछ । आयोगका अध्यक्ष डा सुब्बाका अनुसार नयाँ नेतृत्व चयनका लागि पुस १ गते बिहान ११ः०० देखि बेलुका ५ः०० बजेसम्म मतदान हुनेछ । मतदान महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनेछ ।

एमालेले यसपटक पनि विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्ने जनाएको छ । महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।

Facebook Comments Box