युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्स्टिच्युटका सञ्चालक पक्राउ

काठमाडौं, १४ असार – युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरको बरगाक्षीस्थित कान्तिपुर इन्स्टिच्युटका सञ्चालक गुणानन्द महतोलाई प्रहरीले पक्राउ गरेको छ। ३७ वर्षीय महतोले सोमबार बिहान १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। युवती इन्स्टिच्युटमा प्रोजेक्टको काम गर्न पुगेकी थिइन्। बिहानै एक्लै भएको मौकामा सञ्चालक महतोले युवतीको संवेदनशील अंग छोएको आरोप लगाइएको छ। दुर्व्यवहार गरेका महतोलाई प्रहरीले नियन्त्रणमा लिएपछि लिइएको प्रारम्भिक बयानमा समेत यौन दुर्व्यवहार भएको खुलेको प्रहरीले जनाएको छ।

Facebook Comments Box