रसुवामा बाढीबाट थप क्षति विवरण सार्वजनिक, ६४ सवारी बगाए, जलविद्युत् उत्पादन बन्द

रसुवा, २४ असार – गए राति आएको भीषण बाढीले रसुवागढी भन्सारको सुक्खा बन्दरगाहमा ठूलो क्षति पुर्‍याएको विवरण सार्वजनिक गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले २३ वटा कन्टेनर, ६ मालवाहक ट्रक र ३५ नयाँ विद्युतीय सवारीसाधन गरी कुल ६४ वटा सवारीसाधन बगाएको छ।

बाढीका कारण हालसम्म २० जना बेपत्ता छन्। तीमध्ये तीन जना नेपाल प्रहरी, छ जना बन्दरगाहका कामदार, पाँच जना डिब्बा चालक र छ जना चिनियाँ नागरिक रहेको जनाइएको छ।

बाढीले रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) को ड्यामसाइट बगाउँदा विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी, चिलिमे जलविद्युत् आयोजना (२० मेगावाट) मा तेलरेटरमा लेदो पस्दा उत्पादन ठप्प छ भने मर्मत कार्य सुरु गरिएको छ।

माथिल्लो त्रिशूली ‘ए’ (६० मेगावाट) आयोजनाको ड्यामसाइटमा पनि क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यसैबीच, नेपाली सेनाको हेलिकप्टरमार्फत नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनाको सुरक्षित उद्धार गरिएको छ।

रसुवागढीको ल्हेन्दे खोलामा रहेको १० मिटर चौडा र १०० मिटर लम्बाइको मितेरी पुलमा क्षति पुगेको प्राविधिक टोलीले जनाएको छ। सो पुल चीनको केरुङसँगको सीधा सम्बन्धको मुख्य संरचना हो। पुलमाथिको क्षति करिब ८० कोषमाथि रहेको छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोका कारण भएको अनुमान गरिएको छ।

Facebook Comments Box