राष्ट्रपतिद्वारा सरकारलाई निर्वाचनमा पूर्ण ध्यान केन्द्रित गर्न सुझाव

काठमाडौँ, २८ मङ्सिर – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र प्रभावरहित बनाउन सरकारलाई आफ्नो सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित गर्न सुझाव दिनुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले निर्वाचनलाई प्रभावित नपार्ने गरी सरकारी काम–कारबाही अघि बढाउन आग्रह गर्नुभएको हो।

उक्त जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दिनुभएको छ। राष्ट्रपति पौडेलले निर्वाचनको सन्दर्भमा सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाउन नेपाली सेनासहित सबै सुरक्षा निकायलाई आवश्यक निर्देशनसमेत दिनुभएको थियो।

उक्त अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति समक्ष परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो।

कार्यक्रममा राष्ट्रपति पौडेलले वर्तमान परिस्थितिमा देखिएका तथा भविष्यमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीहरूको मूल्याङ्कन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

Facebook Comments Box