चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखियो

चितवन, २८ मङ्सिर – चितवनमा गाईभैँसीमा खोरेत रोगको सङ्क्रमण देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा पालिएका गाईभैँसीमा उक्त रोग देखिएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ स्थित एक गाई फार्ममा खोरेत रोग पुष्टि भइसकेको छ ।

रत्ननगरका केही गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट अन्तिम नतिजा आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । मङ्सिर ११ गते भरतपुर महानगर क्षेत्रका गाईको नमूना खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला, काठमाडौँमा पठाइएको र मङ्सिर १६ गते नतिजा आएको उहाँले बताउनुभयो ।

रोग देखिएका क्षेत्रमा हाल खोरेतविरुद्धको खोप लगाउने काम भइरहेको र निकट भविष्यमा जिल्लाभर अभियान सञ्चालन गर्ने योजना रहेको डा. न्यौपानेले जानकारी दिनुभयो । “रोग पुष्टि भएका क्षेत्रमा खोप लगाइरहेका छौँ । अब जिल्लाभर नै अभियान चलाउने तयारी छ,” उहाँले भन्नुभयो ।

भाइरसका कारण सर्ने खोरेत रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिनसम्म १०४ डिग्रीसम्म ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती पशुमा गर्भ तुहिने, दूध उत्पादन घट्ने, खुट्टामा घाउ देखिने तथा दानापानी नखानेजस्ता लक्षण देखिने गरेका छन् । यो रोग विशेषगरी गाईभैँसी र बुङ्गुरमा बढी देखिने गरेको डा. न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाका अधिकांश पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइसकिएको भए पनि बाहिरबाट खरिद गरी ल्याइएका पशुमा रोग देखिन सक्ने सम्भावना रहेको कार्यालयले जनाएको छ । बाहिरबाट ल्याइएका पशुलाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राखेर मात्र बथानमा मिसाउन तथा सङ्क्रमण देखिएका पशुलाई छुट्टै राखी उपचार गर्न कार्यालयले किसानलाई आग्रह गरेको छ ।

“जङ्गली जनावरबाट पनि खोरेत सर्न सक्ने भएकाले चरनमा लैजाने गाईभैँसीमा सङ्क्रमणको जोखिम बढी हुन्छ,” डा. न्यौपानेले भन्नुभयो, “त्यसैले सतर्कता अपनाउँदै हरेक फार्ममा जैविक सुरक्षाका उपाय अपनाउन र वर्षमा दुई पटक खोरेतविरुद्धको खोप लगाउन अनुरोध गर्दछौँ।”

Facebook Comments Box