एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने

काठमाडौँ, २७ मङ्सिर –  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिड्नेछन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । लुम्बिनीले भने दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्‍यो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो ।

दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम यस प्रतियोगिताको बलियो दाबेदार मानिन्छ । गत वर्षको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ । त्यसैगरी, रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो । तर यसपटक उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने दाउमा लुम्बिनी पुगेको छ ।

लिग चरणमा यी दुईबीच भएको भेटमा सुदूरपश्चिमले सात विकेटको जित हात पारेको थियो । एनपिएलको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ लाख रुपैयाँ पाउनेछ । तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

 

Facebook Comments Box