केन्द्रीय बैङ्कद्वारा उपदान तथा पेन्सन कोषको रकम लगानी गरिँदै
काठमाडौँ, २७ मङ्सिर – नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको कुल रु छ अर्ब ६० करोड रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले यससम्बन्धी सूचना प्रकाशित गर्दै लगानी लिन इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई रकम र व्याजदर प्रस्तावसहित आवेदन पेस गर्न आग्रह गरेको छ । एक वर्षका लागि लगानी गरिने भएकाले यही मङ्सिर २९ गतेभित्र व्याजदर प्रस्ताव गर्न सूचनामा उल्लेख छ ।
सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु पाँच अर्ब २८ करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु ९९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा रु ३३ करोड बराबरको रकम लगानी गरिनेछ । लगानीका लागि इच्छुक बैङ्क तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्ने, तोकिएको न्यूनतम कुल कर्जा–पूँजी कोष अनुपात कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको आठ प्रतिशतभन्दा बढी नभएको तथा खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने शर्त राखिएको छ ।
त्यसैगरी, केन्द्रीय बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब रकम पनि बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने निर्णय गरेको छ । एक वर्षका लागि लगानी गरिने उक्त रकमका लागि व्याजदरसहित प्रस्ताव पेस गर्न आग्रह गरिएको छ । सूचनाअनुसार कर्मचारी सुरक्षण कोषको रकम ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु ८० करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु १५ करोड र वित्त कम्पनीमा रु पाँच करोड लगानी गरिनेछ । यसका लागि आवश्यक कागजात र विवरणसहित यही मङ्सिर २८ गतेसम्म निवेदन पेस गर्न केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।

