समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित व्यक्तिहरू
बाँके, २७ मङ्सिर – बाँके जिल्लामा कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूले आफ्नो पीडालाई शक्तिमा रूपान्तरण गर्दै समुदायस्तरमा कुष्ठरोगबारे चेतना फैलाउने अभियान सुरु गरेका छन्। स्वयं रोगबाट प्रभावित भई सफल उपचारपछि उनीहरूले सहायता समूह गठन गरी लुकेका बिरामी पहिचान गर्न, उपचारको दायरामा ल्याउन तथा सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
जानकी गाउँपालिका–१ साईगाउँ निवासी गुलाम हसमत साई स्वयं कुष्ठरोगबाट प्रभावित हुनुहुन्थ्यो। रोगका कारण हात र आँखामा समस्या देखिएपछि उहाँले जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पतालमा लामो समय उपचार गर्नुभयो। स्वास्थ्यमा सुधार आएपछि उहाँले कुष्ठरोग प्रभावितको हितका लागि स्वयं सहायता समूह गठन गरी समुदायमा सचेतना अभियान थालेको बताउनुभयो।
“कुष्ठरोगबाट धेरै दुःख पाएँ, अरूले त्यो पीडा भोग्न नपरोस् भनेर गाउँ–समाजमा सचेत गराउँदै आएको छु,” उहाँले भन्नुभयो, “अझै पनि लुकेर बसेका प्रभावितलाई उपचारको दायरामा ल्याउन हामी सहजीकरण गर्दै आएका छौँ।” उहाँका अनुसार नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ।
सहायता समूहका सदस्यहरूले जोखिममा रहेका व्यक्तिलाई स्वास्थ्य संस्थामा जाँचका लागि पठाउन सहयोग गरिरहेका छन्। “बाँकेमै साइनिङ अस्पताल हुनु हाम्रो लागि ठूलो राहत हो,” उहाँले भन्नुभयो, “यहाँ सहज र प्रभावकारी उपचार उपलब्ध भएकाले रोग लुकाउनुको साटो जाँच गरेर उपचार गर्नुपर्छ।”
बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिहिरियास्थित स्वयं सहायता समूहका अध्यक्ष रोहित चौधरीले समाजमा कुष्ठरोगप्रति अझै पनि गलत धारणा रहेको बताउनुभयो। “कुष्ठरोग प्रभावितलाई हेय दृष्टिले हेर्ने र लाञ्छना लगाउने कुसंस्कारका कारण धेरै बिरामी उपचारबाट वञ्चित भइरहेका छन्,” उहाँले भन्नुभयो।
उहाँका अनुसार कुष्ठरोग प्रभावितको सामाजिक तथा आर्थिक हकहितका लागि सङ्गठित रूपमा काम गर्दै शङ्कास्पद बिरामीलाई अस्पतालसम्म पुर्याउने पहल भइरहेको छ। हाल बाँकेमा पाँचवटा स्वयं सहायता समूह गठन भएका छन्, जसमा करिब १०० जना कुष्ठरोग प्रभावित आबद्ध छन्।
भारतमा कुष्ठरोगबाट प्रभावित भई उपचारका लागि साइनिङ अस्पताल आउनुभएकी बर्दिया गेरुवा गाउँपालिका–६ निवासी निर्मला थापाको स्वास्थ्यमा पनि सुधार आएको छ। उहाँले घर फर्किएपछि स्वयं सहायता समूह गठन गरी सम्भावित बिरामीलाई उपचारका लागि प्रेरित गर्ने योजना बनाएको बताउनुभयो।
साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुका अनुसार स्वयं सहायता समूहमा आबद्ध भएपछि कुष्ठरोग प्रभावितहरू सामाजिक तथा आर्थिक रूपमा सशक्त बन्दै गएका छन्। “उहाँहरू अहिले आफ्नो हकहितका साथै नयाँ कुष्ठरोगी पहिचान र उपचारका लागि शङ्कास्पद बिरामीलाई अस्पताल प्रेषण गर्दै सकारात्मक भूमिका निर्वाह गरिरहेका छन्,” उहाँले भन्नुभयो।
पश्चिम नेपालकै कुष्ठरोग प्रेषण केन्द्रका रूपमा रहेको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पतालमा नयाँ बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको छ। अस्पतालका अनुसार आर्थिक वर्ष ०८१/८२ मा १७४ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा बढी हो। आर्थिक वर्ष ०८०/८१ मा १४६ जना नयाँ बिरामी पहिचान गरिएको थियो।
पहिचान गरिएका नयाँ बिरामीमध्ये बाँकेका ७१, बर्दियाका ४२, सुर्खेतका पाँच, दैलेखका तीन, जाजरकोटका चार, दाङका पाँच, सल्यान र प्यूठानका दुई–दुई, रुकुमका तीन, सुदूरपश्चिम प्रदेशका छ तथा भारतका ३१ जना रहेका छन्। तीमध्ये ७९ जना अर्थात् ४५ प्रतिशतमा कुष्ठरोगको कीटाणु पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।
अस्पतालले बहिरङ्ग सेवामार्फत १८ हजार ९०८ सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। तीमध्ये दुई हजार ७८४ जना कुष्ठरोग वा सम्बन्धित समस्या र १६ हजार १२४ जना छाला तथा अन्य स्वास्थ्य समस्यासहित आएका थिए। साइनिङ अस्पतालले कुष्ठरोग पहिचान, उपचार, अपाङ्गता रोकथाम, सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि तालिम तथा निःशुल्क उपचार सेवाजस्ता गतिविधि सञ्चालन गर्दै आएको छ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले साइनिङ अस्पताल बाँके मात्र नभई पश्चिम नेपालकै प्रमुख उपचार केन्द्र भएकाले यसको प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय सरकारले आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।

