सुर्खेतमा चट्याङ लागेर एकको मृत्यु, चार जना घाइते
कर्णाली, २० असार – सुर्खेतको भेरीगङ्गा नगरपालिका–८, कुइरेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, दिउँसो ३ बजे वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा परेको चट्याङले सोही वडाका २७ वर्षीय डिलबहादुर शाही गम्भीर घाइते भएका थिए। उपचारका लागि मेहलकुना अस्पताल पुर्याइएका शाहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सो घटनामा १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरी घाइते भएका छन्। उनीहरूलाई पनि मेहलकुना अस्पतालमा भर्ना गरिएको छ र उपचार भइरहेको जनाइएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा र अस्थायी प्रहरी चौकी जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा दुई प्रहरी टोली घटनास्थलमा खटिएका थिए। प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ।

