धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठाेक्किए
धादिङ, २० मंसिर – धादिङको धुनिबेसी नगरपालिका–६, चालिसेमा बुधबार बिहान सात वटा सवारी साधन एकै स्थानमा ठोक्किँदै ठूलो दुर्घटना भएको छ। पृथ्वी राजमार्गअन्तर्गतको उक्त स्थानमा स्कुल बससहित चार बस, दुई ट्रक र एक मोटरसाइकल दुर्घटनामा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अनियन्त्रित भई अन्य सवारीमा ठक्कर दिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
दुर्घटनापछि सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। अहिले प्रहरीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार कार्य जारी राखेको छ।
दुर्घटनास्थलमै रहेका पत्रकार आशीष ठकुरीका अनुसार दुई बसका अधिकांश यात्रु घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी नजिकैका स्वास्थ्य संस्थासहित काठमाडौँतर्फ पठाइएको छ। यसैबीच, प्रहरीद्वारा दुर्घटनाग्रस्त सवारी हटाई बाटो खुलाउने प्रयास भइरहेको छ।

