रोसिङटनको अर्धशतकमा पोखराको सहज जित, चितवन ८ विकेटले पराजित

काठमाडौं, २० मंसिर – एडम रोसिङटनको शानदार अर्धशतकसहित पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै लिग चरण विजयी रूपमा समाप्त गरेको छ।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। दुवै टिम पहिल्यै प्लेअफ होडबाट बाहिरिसकेको कारण यो खेल प्रतिष्ठाको मात्र थियो। पोखराले ७ खेलबाट ६ अंक जोड्दै पाँचौँ स्थानमा लिग सकायो भने चितवनले ७ खेलमा पाँचौं हारसँगै ४ अंकमा सीमित रह्यो।

अब आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने अन्तिम खेलपछि लिगको तल्लो तीन स्थान निश्चित हुनेछ। पोखराका ओपनर एडम रोसिङटनले ४८ बलमा ४ चौका र ५ छक्कासहित ६५ रन बनाए। उनको साथमा पहिलो खेल खेलेका अर्जुन कुमालले अविजित ४३ रन जोडे।

दुवैले पहिलो विकेटका लागि १४.२ ओभरमै १०० रनको शतकीय साझेदारी गरे। कुशल भुर्तेल ४ रनमा आउट भए भने जेसन रोय ६ रनमा अविजित रहे। चितवनका सैफ जैब र रिजन ढकालले एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रन बनायो। देव खनालले ३५ रन बनाए भने डेब्यु खेलमै अल्पेश राम्जानीले २२ बलमा अविजित ३३ रन जोडे। कप्तान कुशल मल्लले २३ रन र सैफ जैबले १७ रन थपे।

७ रनमै ३ विकेट गुमाएपछि देव र जैबले ३८ रनको साझेदारी गर्दै पारी सम्हाले। त्यसपछि देव–कुशलबीच २५ तथा कुशल–राम्जानीबीच ३९ रनको साझेदारी भयो।

पोखराका धनञ्जय लक्षनले ३.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिएका थिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक–एक विकेट लिए।

Facebook Comments Box