रेडपाण्डा संरक्षणका लागि इलाममा रेडपाण्डा महोत्सव
काठमाडौँ, १० चैत – दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम मा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको छ। पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक सनम राईले ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर महोत्सव गर्न लागिएको जानकारी दिनुभयो।
करिब ४० किलोमिटर लामो उक्त पदमार्गले माईपोखरी देखि जौबारीसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई जोड्छ। महोत्सव सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा आयोजना हुनेछ। यहाँ रेडपाण्डासहित विभिन्न वन्यजन्तु, चराचुरुङ्गी तथा जैविक विविधताको अवलोकन गर्न सकिनेछ।
महोत्सवका मुख्य आकर्षणमा रेडपाण्डा पदयात्रा अनुभव, जङ्गल सफारी, चराको अवलोकन तथा गुराँसका १८ प्रजातिको अध्ययन समावेश छन्। साथै, स्थानीय आदिवासी जनजातिको संस्कृति अवलोकन गर्ने अवसर पनि प्रदान गरिनेछ। आयोजकका अनुसार यहाँबाट सगरमाथा सहित ६० भन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।
महोत्सवमार्फत करिब १० हजार आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। यसले सन्दकपुर क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ। यसअघि २०८० र २०८१ सालमा पनि रेडपाण्डा महोत्सव सफलतापूर्वक आयोजना भइसकेको छ। पूर्वी नेपालको वनजङ्गल पर्यटनलाई चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिँदै आएको जनाइएको छ।

