नियमित बजार अनुगमनलाई तीव्रता, नौ उद्योग/फर्ममाथि कारबाही

काठमाडौँ, १६ मंसिर – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै सोमबार काठमाडौँ र ललितपुरका नौ वटा उद्योग तथा फर्ममाथि कारबाही गरेको छ। गत वर्षहरूमा चाडपर्वका बेला मात्र अनुगमनमा सक्रिय देखिएको भनी आलोचना भएपछि विभागले हाल देशभर स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको समन्वयमा निरीक्षण कार्यलाई थप सशक्त बनाएको जनाएको छ।

विभागका अनुसार ललितपुर–१५ कुमारीपाटीस्थित युएफओ पाटनलाई रु २० हजार र काठमाडौँ–१५ चमतीस्थित रेग्मी व्याग उद्योगलाई रु २० हजार जरिवाना गरिएको छ। विभागले जारी गरेको विज्ञप्तिमा सो कारबाही उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम गरिएको उल्लेख छ।

यस दफामा बिक्रीका लागि खरिद गरिएका वस्तु तथा सेवासम्बन्धी बिलबिजक अनिवार्य रूपमा राख्नु पर्ने व्यवस्था छ। यही प्रावधान उल्लङ्घन गरेको पाइएपछि योगेन्द्र साडी भण्डारमाथि पनि कारबाही गरिएको विभागले जनाएको छ।त्यसैगरी, उपभोक्ता संरक्षण ऐनको दफा ३९(१) ले बजार अनुगमन वा जाँचबुझका क्रममा कसुर प्रमाणित भएमा रु ५ हजारदेखि २० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था गरेको छ।

सोही आधारमा सम्बन्धित फर्महरूमाथि कारबाही गरिएको विभागले स्पष्ट पारेको छ। यसैबीच, मानसरोबर इन्टरप्राइजेज र रविशंकर स्टोरलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। अन्य पाँच फर्मलाई भने सामान्य लिखित निर्देशन दिइएको विभागले जनाएको छ।

Facebook Comments Box