कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं, २२ साउन – मनसुन सक्रिय भएसँगै देशभर वर्षा हुने क्रम जारी छ। अहिले पनि कोशी, बागमती, लुम्बिनी प्रदेश, मधेश प्रदेशको पश्चिमी भाग र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशााखाकी मौसमविद् शान्ति कँडेलका अनुसार ‘अहिले मनसुन सक्रिय भएको छ अरू दुई/तीन दिन वर्षा जारी रहने देखिन्छ।
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। ‘आज काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको छ’, मौसमविद् कँडेलले भनिन्। यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
मौसम महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाले यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

