राजनीतिमा पुनः सक्रिय हुने घोषणा: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ९ साउन – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पुनः सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्। आफ्नाे मातृपार्टी नेकपा (एमाले) बाट पुनः सक्रिय हुने बताउँदै उनले मुलुक र नागरिक सेवामा समर्पित रहने प्रतिवद्धता व्यक्त गरिन्।

आज काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा बोल्दै भण्डारीले जननेता मदन भण्डारीबाट पार्टी सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेको स्मरण गरिन्। उनले भनिन्, “म राजनीति गरेरै राष्ट्रपतिमा निर्वाचित भएकी हुँ। अब बाँकी जीवन पनि राजनीतिमा समर्पित गर्नेछु।”

उनका अनुसार राष्ट्रपतिका रूपमा एमालेकै निर्णयमा आधारित भएर भूमिका पूरा गरेपछि अब फेरि पार्टीमा फर्किनु स्वाभाविक हो। “मलाई कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा छैन,” उनले भनिन्, “मैले राष्ट्रकै सर्वोच्च पदमा रहेर इतिहासमा आफ्नो नाम लेखिसकेको छु।”

यद्यपि हालै सम्पन्न एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नमिल्ने निर्णय गर्दै पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। त्यस निर्णयप्रति अप्रत्यक्ष असहमति जनाउँदै उनले भनिन्, “म पार्टीको सदस्य हुनबाट वञ्चित हुनुपर्ने कुनै कारण छैन।”

जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) प्रति पार्टीका नेता, कार्यकर्ता र जनसङ्गठनको गहिरो आस्था र निष्ठाले पार्टीको सफलता सम्भव भएको भन्दै उनले पार्टीलाई वैचारिक तथा साङ्गठनिक रूपमा थप सशक्त बनाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिन्।

Facebook Comments Box