पर्यटकको आकर्षक गन्तव्य बन्दै तालतलैया

सुनसरी, १६ मंसिर – सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा फैलिएको तालतलैया पछिल्ला वर्षहरूमा पूर्वाञ्चलकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। करिब २१.५ हेक्टर क्षेत्रफलमा रहेको यो क्षेत्र विशेषगरी वनभोजका लागि अत्यन्त लोकप्रिय बनिरहेको छ।

तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर रायमाझीका अनुसार मुख्य वनभोजको मौसममा दैनिक १२–१५ हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन्। सामान्य दिनमा पनि करिब ५०० जना घुम्न आउने गरेका छन्। एकैपटक ७० भन्दा धेरै समूहले वनभोज गर्नसक्ने सुविधा भएकाले दुई–चार दिनअघि नै बुकिङ गर्नुपर्ने उहाँले जानकारी दिनुभयो।

पर्यटकको आकर्षण बढाउने उद्देश्यले परिसरभित्र छ वटा पोखरी र दुवै तर्फ चल्ने दुई वटा मोटरबोट सञ्चालनमा ल्याइएको समितिले बताएको छ। मंसिरदेखि माघसम्म पर्यटकको चाप सबैभन्दा बढी हुने गर्छ। करिब ४० प्रतिशत पर्यटक भारतका विभिन्न शहर तथा सिरहा–सप्तरी क्षेत्रबाट आउने गरेको अध्यक्ष रायमाझी बताउनुहुन्छ। तालतलैयाभित्रको चिडियाखाना पनि यात्रुहरूको मुख्य आकर्षण बनेको छ, जहाँ दुम्सी, मयूर, गिद्ध, चित्तल, हाँस, घोडा र बाँदरलगायत विभिन्न वन्यजन्तु राखिएका छन्।

आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयले विनियोजन गरेको ८५ लाख रुपैयाँबाट तालतलैयामा थप पर्यटकीय संरचना निर्माण गरिएको छ। उक्त बजेटबाट शौचालय, चिडियाखानाका संरचना, नर्सरी, वाटर फाउन्टेन तथा बालबालिकाको चिल्ड्रेन पार्क निर्माण भएको अध्यक्ष रायमाझीले बताउनुभयो। स्कुल बिदामा बालबालिकासहित आउने अभिभावकको संख्या पनि उल्लेख्य रहेको छ।

स्थानीय व्यवसायी चन्द्रकला श्रेष्ठका अनुसार नजिकै आकर्षक पर्यटनस्थल हुँदा साना उद्यमीको आम्दानी बढेको छ। दैनिक ५०० भन्दा बढी पर्यटक आउने भएकाले चटपटे, म:म, चाउमिनजस्ता परिकारको बिक्री राम्रो हुने र यसले आयस्तरमा सकारात्मक असर परेको उहाँ बताउनुहुन्छ।

मोरङको कानेपोखरीबाट आएका निरोज थापाले तालतलैया छुट्टी मनाउन उपयुक्त स्थान भएको बताए। “फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट र सुव्यवस्थित संरचना भएकाले हामी प्रायः यत्तै घुम्न आनन्द लिन्छौँ,” उनले भने।पूर्वाञ्चलको प्रमुख मनोरञ्जन तथा वनभोज गन्तव्यका रूपमा विकसित हुँदै गएको तालतलैया स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।

यहाँका संरचनाको मर्मत–सम्भार, जनावरको बासस्थान संरक्षण तथा पर्यटकीय पूर्वाधार विस्तारका लागि प्रदेश र संघीय सरकारबाट निरन्तर सहयोग प्राप्त हुँदै आएको व्यवस्थापन समितिले जनाएको छ। पर्यटकलाई विश्राम र अवलोकनका लागि चौतारा, बगैँचा तथा विभिन्न मूर्तिहरू पनि निर्माण गरिएको छ।

Facebook Comments Box