मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते
नवलपरासी, ६ मङ्सिर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।गए राति करिब १० बजे डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले जानकारी दिए। ठक्करबाट तीनै जना गम्भीर घाइते भएका थिए।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक कावासोती–१६ गैडाचोकका ४२ वर्षीय हीराबहादुर परियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडि सवार कावासोती–३ की ३२ वर्षीय सुनिता जोहार्जा र कावासोती–१४ की २४ वर्षीय मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। ठक्कर दिने सवारीसाधनको पहिचानका लागि प्रहरीले खोजीकार्य चलाएको छ।

