एनपिएलः आज दुई खेल हुँदै
काठमाडौँ, ६ मङ्सिर — राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुनेछन्। पहिलो खेल बिहान ११ः१५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुनेछ।
लुम्बिनी रोहित पौडेलको नेतृत्वमा दोस्रो जितको खोजीमा रहनेछ। उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो।सोमपाल कामी कप्तान रहेको कर्णालीका लागि आजको खेल महत्वपूर्ण छ, किनकि टोली पहिलो खेलमा चितवनसँग पराजित भएको थियो।
दोस्रो खेल दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्सबीच हुनेछ। करण केसीको कप्तानीमा रहेको काठमाडौँको यो तेस्रो खेल हो। पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराए पनि दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग काठमाडौँ पराजित भएको थियो। सन्दीप लामिछाने नेतृत्वको विराटनगर लगातार दोस्रो जितका लागि मैदान उत्रनेछ। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध प्रभावशाली जित निकालेको थियो।

