पाँचथरमा अविरल वर्षापछि आएको बाढी–पहिरोले विभिन्न भौतिक संरचनामा क्षति

पाँचथर, ७ असार –  पाँचथरको हिलिहाङ गाउँपालिकामा अविरल वर्षापछि आएको बाढी–पहिरोले विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको छ। बिहीबार रातिको वर्षापछि हिलिहाङ–५ स्थित सुभाङ खोलामा आएको बाढीले तमोर करिडोर सडकखण्डमा बालुवा–गिटी उत्खननका लागि राखिएका एपेक्स कम्पनीका क्रसर उपकरण र सामग्री बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाढी–पहिरोको जोखिम बढेसँगै हिलिहाङ–५ का आठ घर उच्च जोखिममा परेका छन्। जोखिमलाई ध्यानमा राख्दै स्थानीय सर्णकुमार केरुङसहित पाँच सदस्यीय परिवारलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिनुभयो। प्राकृतिक विपत्तिका कारण सिजेनफुङ खानेपानी आयोजना, पदालुङ अलैँची तथा कृषि फार्मको खानेपानी आयोजना र एक निजी खानेपानी पाइपलाइनमा समेत क्षति पुगेको छ।

साथै अमले सिरान सिँचाइ कुलो र सिजेनफुङ–आम्बोटे सिँचाइ कुलोको मुहान तथा संरचनामा पनि असर परेको जनाइएको छ। यता हिलिहाङ–४ का विष्णुप्रसाद चापागाईले पालेका ६९ वटा स्थानीय कुखुरा बाढीले बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिषकुमार कर्णका अनुसार हालसम्म मानवीय क्षति भएको छैन। प्रभावित क्षेत्रको थप विवरण सङ्कलन तथा क्षतिको मूल्याङ्कन गर्ने काम जारी रहेको छ।

Facebook Comments Box