राष्ट्र बैंकले तीन अर्ब ५३ करोड लगानी गर्ने
काठमाडौँ, २ मङ्सिर – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा सञ्चित तीन अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी मङ्गलबार साँझ ७ बजेभित्र आवेदन पेश गर्न आग्रह गरेको छ।
राष्ट्र बैंकले यो रकम एक वर्ष अवधिका लागि लगानी गर्ने तयारी गरेको छ। सूचनाअनुसार वाणिज्य बैंकहरूमा दुई अर्ब ८२ करोड ४० लाख, विकास बैंकहरूमा ५२ करोड ९५ लाख र वित्त कम्पनीहरूमा १७ करोड ६५ लाख रुपैयाँ लगानी हुने उल्लेख गरिएको छ।
यसमा सहभागी हुन बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा आएको दुई वर्ष पूरा गरेको, न्यूनतम कूल पुँजीकोष कायम भएको, कूल कर्जा–सापटीको अनुपात ८ प्रतिशत ननाघेको र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभित्र रहेकोसहितका योग्यता पूरा गर्नुपर्नेछ।

