फर्किएको रैथाने खान्कीको रौनक
काठमाडौँ, २ मङ्सिर – कुनै समय मानिसले कोदोको ढिँडो खाए पनि लुकाएर खाने गर्थे । गरिबको खाना मानिने भएकाले ढिँडो खाएको कुरा सार्वजनिक रूपमा भन्न लाज मानिन्थ्यो । गाउँघरमै समेत चामल धनीको र कोदो गरिबको खाना हो भन्ने मानसिकता बलियो थियो । कतैकतै त घरभित्र ढिँडो खाने र बाहिर कुकुरलाई दूधभात खुवाइने कुरा पनि प्रचलित थियो ।
तर अहिले समय फेरिएको छ । गाउँघर मात्र होइन, सहरका ठूला होटल–रेष्टुरेन्टमा समेत ढिँडो खोजेर जानेहरू बढेका छन् । ढिँडो अब लुकाएर खाने खाना होइन, मनपर्ने र गर्वका साथ खाइने र सामाजिक सञ्जालमा तस्वीरसहित शेयर गरिने लोकप्रिय परिकार बनेको छ ।
पहिले अत्यावश्यक मानिएको भात अहिले धेरैका लागि विकल्प बनेको छ । घरमै होस् वा होटलमा, मानिसहरू रोटी, च्याख्ला वा ढिँडोलाई प्राथमिकतामा राख्छन् । भातलाई ‘रोगको घर’ मान्ने प्रवृत्ति बढेको छ, किनकि चिकित्सकहरू पनि सकेसम्म कार्बोहाइड्रेट कम र अर्गानिक तथा रैथाने खानेकुरा बढी सेवन गर्न सुझाउँछन् ।
स्वास्थ्यबारे चेतना बढेसँगै विषादीरहित, रैथाने उत्पादन र कम कार्बोहाइड्रेटयुक्त अन्न सुचिकृत रोजाइ बन्न थालेका छन् । खाद्य तथा पोषणविद् डा. अरुणा उप्रेतीका अनुसार कोदो, फापर, गुद्रुक, मकै, च्याख्ला, दाल–भातजस्ता रैथाने परिकार पुनः लोकप्रिय हुँदै गएका छन् । रक्तचाप, मधुमेहलगायत रोगबाट बच्न पनि आधुनिक र प्रक्रिया गरिएको खाना भन्दा रैथाने परिकारमा मानिसको भरोसा बढेको बताउँछन् ।
“पहिले रैथाने खाना खाँदा अपहेलना सहनुपर्थ्यो, अहिले त्यस्तो छैन,” उप्रेती भन्छिन्, “अब त पाँचतारे होटलमै पनि कोदो र फापरका परिकार मेनुमा राख्न थालिएको छ ।” अर्गानिक उत्पादनप्रति आकर्षण बढ्दै जाँदा होटल–रेष्टुरेन्टहरूले पनि स्थानीय सामग्री प्रयोग गर्न थालेका छन् । झापा निवासी दुर्गा प्रसाईंले पूर्वप्रधानमन्त्रीहरूलाई मार्सी चामल खुवाएको घटनापछि मार्सी चामल व्यापक चर्चामा आयो ।
आज ‘मार्सी थकाली’ जस्ता रेष्टुरेन्टले यसलाई नै प्रमुख ब्रान्ड बनाएका छन् । लाजिम्पाटस्थित बुकी बुटिक होटलका व्यवस्थापक मनिष श्रेष्ठका अनुसार ग्राहकहरूको भोजन रुचिमा ठूलो परिवर्तन आएको छ । “अब मानिसले भात खोजे पनि मार्सी वा अन्य रैथाने चामल नै माग्छन्, नत्र ढिँडो, गुद्रुक, सिस्नु, लोकल कुखुराजस्ता परिकार रोज्छन्,” उनी भन्छन् । होटल परिसराजस्तै काँठ क्षेत्रका होटलहरूमा प्रत्येक शनिबार स्थानीय अर्गानिक उत्पादनको बजार लाग्ने गरेको छ ।
सेफ्स एसोसिएसन नेपालका पूर्वअध्यक्ष तथा सेफ गोविन्दनरसिंह केसीका अनुसार अहिले मानिस आधुनिक परिकारभन्दा पनि अर्गानिक र रैथाने खाना खोज्दै ठूला होटलसम्म पुग्छन् । विषादी र रासायनिक मलको उपयोग बढेपछि स्वच्छ उत्पादनप्रतिको आकर्षण तीव्र भएको उनको अनुभव छ ।
काठमाडौँका काँठ क्षेत्रमा सञ्चालनमा आएका रिसोर्टहरूमा पनि रैथाने परिकार माग निकै बढेको छ । डाँडागाउँस्थित रोयल भिल्ला रिसोर्टका सञ्चालक पुष्कल मल्ल भन्छन्, “ढिँडो, गुद्रुक, सिस्नु, फापर, मार्सीभात, लोकल कुखुराको झोलजस्ता रैथाने परिकार अहिले अत्यन्त लोकप्रिय छन् ।”
काठमाडौँ मात्र होइन, पोखरा र चितवनजस्ता पर्यटकीय सहरका थकाली, ढिँडो तथा रैथाने खानामा आधारित होटल–रेष्टुरेन्टहरूले पनि पाहुनालाई स्थानीय स्वाद परिचय गराइरहेका छन् । रैथाने खान्की अब लाजको होइन, पहिचान र स्वास्थ्य दुवैको प्रतीक बनेको छ ।

